लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
दोर्दी गाउँपालिका– ६ सिमीगाउँ नजिकै लोदोखोलामा प्रदेश नम्बर ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटना परी स्याङ्जा जिल्ला मिर्मी गाउँपालिका स्थायी घर भई जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर ३४ बर्षीय यदुनाथ भट्टराई, उदयपुर जिल्ला लिमजुडबुड गाउँपालिका– १ घर भएका जलविद्युत् आयोजनामा कार्यरत २६ बर्षीय जिपचालक किशोर राई र तनहुँ जिल्ला भानु नगरपालिका– १० घर भएका जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी ४५ बर्षीय प्रकाश लौडरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सुनसरी जिल्ला स्थायी घर भई जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर ४० बर्षीय सुनिलकुमार शाह, दोर्दी गाउँपालिका– ६ ताजे घर भएकी १५ बर्षीया अनु घले र दोर्दी गाउँपालिका– ६ कै १५ बर्षीया सुनिता विक घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए ।
बिहीबार साँझ करिब साढे पाँच बजे जीप सडकबाट करिब एक सय २० मिटर तल लोदोखोलामा खसेको थियो । घाइतेहरूको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी थापाले जानकारी दिए । नागरिक खबरबाट