काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । शनिबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १० त्रिवि शिक्षण अस्पतालमा गएर कोरोना खोप लगाउने जानकारी दिए । प्रधानमन्त्री ओलीले खोप लगाएर आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानको उद्घाटन गर्ने पनि मन्त्री त्रिपाठीले बताए ।
सरकारले आइतबारबाट हुने दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।
५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा। झलक गौतमले बताए । मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।
त्यस्तै आइतबार बिहान सवा ११ बजे कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने पनि मन्त्री त्रिपाठीले जानकारी दिए । कोभ्याक्स सुविधाअन्तर्गत आइतबार आउने कोरोना खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो ।
भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो । त्यस्तै नेपालले खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज फागुन ८ गते आइसकेको छ । सरकारले अतिरिक्त ५० लाख डोज खोप किन्ने तयारी गरिरहेको पनि स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए । ekantipurबाट