.खेमराज गौतम
गलकोट । मानिसले हरेक कुरालाई गहिराइमा पुगेर यसको अर्थ र महत्व बुझ्न सक्यो भने जीवनमा नाम र दाम कमाउन कठिन छैन । जीवनमा कलाले रङ्ग मात्र भर्दैन, प्राण पनि थप्छ । बागलुङ नगरपालिका– २ श्रीनगर टोल निवासी सुवासचन्द्र लामिछाने चित्रकला र मूर्तिकलामा आफ्नो सृजनशीलता प्रस्तुत गर्न व्यस्त छन् । उनी कलामा व्यावसायिकता अँगाल्ने कममध्येमा पर्छन् ।
ढुङ्गाको आकर्षक मूर्ति र शिलालेख लेखनमा यस क्षेत्रमा लामिछानेको पृथक परिचय छ । उनले तयार गरेको मूर्ति नेपालका धेरै स्थानमा पुगेको छ । लामिछानेका दाजुभाइ पनि मूर्तिकला व्यवसायमा सक्रिय छन् । सुवासचन्द्र सानै उमेरमा चित्रकलामा पोख्त थिए । उनी अहिले ४६ वर्षको भए । पुख्र्यौली घर कुस्मा नगरपालिका–१० गहतेपखरा हो । त्यही गाउँबाट एसएलसी उतीर्ण गरेका लामिछाने अहिले धौलागिरिमा सफल व्यवसायीका रुपमा परिचित छन् । बागलुङ नगरपालिका– २ श्रीनगर टोल, क्याम्पस रोडमा बस्दै र व्यवसाय गर्दै आएका लामिछाने दाजुभाइ मूर्तिकला र शिलालेखको काममा सदैव भ्याइनभ्याइ हुन्छन् ।
पुख्र्यौली चित्रकलामा पोख्त लामिछाने कक्षा २ मा अध्ययन गर्दा धौलागिरि अञ्चलमा नै चित्रकलामा प्रथम भएको बताउँछन् । “सानै उमेरमा चित्रकलामा बढी जोड थियो, धेरै पटक प्रतियोगितामा भाग लिँदा अधिकांशमा प्रथम भए, विद्यालयका गुरुलेसमेत चित्रकलाबाट आफूहरु प्रभावित बनेको बताए”, लामिछानेले भने, “कुनैबेला व्यावसायिक बनिएला भन्ने लागेकै थिएन, धेरैको प्रेरणा, चित्रकलाको ज्ञान र अथक मेहनतले यसलाई निरन्तरता दिएको छु, नयाँ र फरक पेशा भए पनि निरन्तर लागे सफल भइन्छ भन्ने उदाहरण पनि हो ।”
अहिले लामिछानेका चारै भाई मूर्तिकलामा हुनुमा जेठा सुवासचन्द्रकै योगदान छ । सुवासचन्द्रका दुई भाइले सुवास ब्रदर मूर्ति उद्योग तथा मार्बल आर्ट सञ्चालनमा ल्याएका छन् । भाइ लेखनाथको श्रीनगर टोलमा र भाइ विपिनले म्याग्दीमा मूर्ति उद्योग चलाएका छन् ।
“कागजमा कोरेको चित्रलाई कमलो ढुङ्गामा उतार्न मन लाग्यो, सरस्वतीको मूर्ति छिनो र घनको सहायताले बनाए, त्यसपछि ढुङ्गामा समेत मूर्ति बनाउन सकिने रहेछ भन्ने लाग्यो”, लामिछानेले स्मरण गर्दै भने, “विसं २०४६ साउन १३ गतेदेखि ढुङ्गा कुँदेर मूर्ति निर्माण गर्न थालेको हुँ, अहिले विद्युतीय औजारले केही सहजता बनाएको छ ।”
त्यतिबेला लामिछानेलाई मूर्ति बनाउने काम व्यावसायिक बन्ला भन्ने सोच थिएन । उनले २०५२ सालबाट व्यावसायिकरुपमा मूर्ति बनाउने काम कुस्मा बजारबाट गरेका हुन् । एसएलसी पास गरेपछि व्यावसायिक बन्नुभएका लामिछानेले पहिलोपटक पञ्चदेवीको मूर्ति बनाएर बिक्री गरेका थिए।
उनले घन र फलासीले कुँदेर बनाएको उक्त मूर्तिलाई ५ सयका दरले बिक्री गरेका थिए । हिन्दू धर्मका धेरै भगवान् र सँगै बौद्धको मूर्तिसमेत बनाउँदै आएका लामिछानेले मूर्तिको माग धान्नै धौधौ भएको बताए । धौलागिरिका चार जिल्लामा शिला र मूर्ति बिक्री गर्दै आएका छन्, भने पोखरा, काठमाडौँ, चितवनलगायतका स्थानबाट मूर्तिको माग भइरहेको उनको भनाइ छ ।
देश धर्म निरपेक्षतामा गइसकेपछि झनै आफ्नो धर्म, संस्कृति तथा मठमन्दिर निर्माणमा तीव्रता दिइएको उनको भनाइ छ । उनले भने, “मठमन्दिर बनाउने शिला लेख्ने कार्य निकै बढेको र आफ्ना बाउबाजेले निर्माण गरेको मठमन्दिरमा मूर्ति राख्ने परम्परासमेत बढेको छ ।”
आफूलाई धेरैले भगवान् बनाउने मान्छे भन्ने गरेको उनको भनाइ छ । आफूले केबल ढुङ्गामा कला भरेको तर त्यस्तो मान्छे नभएको लामिछानेको स्पष्टोक्ति छ । “भगवान् ढुङ्गामा हुन्छ, परापूर्वकालदेखि मानिसले ढुङ्गालाई पुज्ने गरेका छन्”, लामिछानेले भने, “ढुङ्गा आफैँमा देउता हो, पहिचान गर्ने क्षमता फरक होला, मैले ढुङ्गा देख्नासाथ भगवान् सम्झन्छु त्यही भगवान् ढुङ्गा कुँदेर निकाल्छु, ढुङ्गामा भगवान्को बास हुन्छ, कालीगढ एउटा माध्यम मात्रै हो, मैले ढुङ्गाभित्रको भगवान्लाई आकार मात्रै दिएको हो ।”
लामिछानेले आफूले प्रत्येक ढुङ्गामा लाख–लाख देख्ने गरेको रोचक अनुभव सुनाए । उनले भगवान् बनाउन नसक्ने भगवानको स्वरुपलार्ई बाहिर ल्याउने प्रयास गर्नु नै मूर्तिकारको मुख्य काम भएको बताए । पहिला ठूलो शिला पुज्ने गरिन्थ्यो अहिले कालिगढले शिलालाई आकारमा मात्रै ढालेको उनको तर्क छ । मूर्ति उद्योगमा प्रायः शिवलिङ्ग, शिव भगवान्, विष्णु, नाग, सरस्वती, देवी, पार्वती र नारी स्वरुपका मूर्ति बनाउने गरेको उनले बताए ।
मूर्तिकलामा प्रविधिले निकै सहयोग गरेको छ । उनले भने, “पहिला महिनौँ लाग्ने मूर्तिलाई अहिले हप्तामै बनाउन सकिन्छ, यसमा विद्युतीय औजारको सहयोग धेरै छ ।” विसं २०६० देखि विद्युतीय औजार चलाएको उल्लेख गर्दै उनले विसं २०६० बाटै शिला लेख्न थालेको बताए ।
ढुङ्गामा कोरेर भावना, संस्कृति तथा दर्शन निकाल्न सक्ने भन्दै अधिकांश ढुङ्गाले संस्कृति देखाउने बताए । अलि कडा र नटुक्रिने ढुङ्गाबाट राम्रो मूर्ति बन्ने र ढुङ्गा खोज्न विभिन्न जिल्ला भौतारिनुपर्ने अवस्था छ । एउटै ढुङ्गालाई उद्योगसम्म ल्याउन ५० हजारदेखि एक लाखसमेत खर्च हुन्छ ।
कुनै पनि विषय, क्षेत्रको काममा नयाँ र फरक हिसाबले सोच, सोध र खोज गर्नसके युवा विदेश पलायन हुन नपर्ने मूर्तिकार सुदीप लामिछाने बताए । उनले दाजुको मेहेनत र लगाव देखेर आफू पनि यसप्रति अग्रसर भएको बताए। बाइस वर्षीय सुदीप ल्याब टेक्निसियन अध्ययन गर्दागर्दै दाजुको कर्म देखेर मूर्तिकलामा लागेको र अब यसमै लागिरहने उनको सङ्कल्प छ ।
सुवासचन्द्रले आफू उक्त व्यवसायबाट निकै सन्तुष्ट बनेको बताए । उनले मूर्तिकला व्यवसायबाटै केही सम्पत्ति जोडेको बताए । “यो धूलोमैलोमा खेल्ने पेशा हो, कतिले आफैँलाई आएर साहुजी खोईभन्दा अचम्म लाग्छ”, उनले पृथक स्मरणीय घटना सुनाउँदै भने, “अहिले कुर्चीमा बसेर खाने जागिर चाहिएको छ, मैले आफू जस्तै मेहेनत गर्ने कामदारसमेत पाउन सकेको छैन ।” रासस