मन्त्री पुनद्धारा अक्सिजन उत्पादन केन्द्रको उद्घाटन, बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपुर्ति

बेनी । म्याग्दीको सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । सो उत्पादन केन्द्रको विहिबार एक कार्यक्रमका विच गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुनले उद्घाटन गर्नुभएको हो । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा भएका सबै ३० शय्यामा अक्सिजन पाइप जडान गरिएको जानकारी दिनुभयो ।उहाँका अनुसार प्रदेश सरकार, संघीय सरसकारको स्थानीय पुर्बाधार साझेदारी कार्यक्रम, रघुगंगा गाउँपालिका र बेनी अस्पतालको आन्तरिक स्रोतबाट एक करोड रुपैयाँको लागतमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमा उत्पादन भएको अक्सिजन सिधै बिरामीको बेड सम्म पुग्ने ब्यवस्था मिलाइएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । आकस्मिक, मिर्गौला डायलासिस, सघन उपचारकक्ष (आइसीयू) र बहिरङ्ग विभागका शय्यामा अक्सिजन आपूर्ति गराउन पाइपलाइन जडान भएको छ ।

पाइपबाट शय्यामै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वास, आइसीयूमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलले बताउनुभयो । अस्पतालमै अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको रु १० लाख बजेटले प्लान्टबाट अस्पतालको शय्यामै अक्सिजन पुर्याउन पाइपलाइन जडान गरिएको हो । प्लान्टले एक दिनमा १५ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको प्रमुख डा कँडेलले बताउनुभयो । हाल १० वटासम्म सिलिण्डर भर्ने डा कँडेलले बताउनुभयो । अस्पतालमा अहिले दैनिक २० देखि २५ श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ ।

एकपटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न ६३ लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालका अनुसार सामाजिक विकास मन्त्रालयले गत आवमा ७५ लाख रुपैयाँ बजेट पठाएकामा प्रतिस्पर्धामार्फत ४३ लाख रुपैयाँमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको हो । सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको १४ लाख र अस्पतालको एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याइएको अध्यक्ष कटुवालले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार