नवलपरासी । पश्चिम नवलपरासीका खेतीयोग्य जमिन नियमित सिँचाइका लागि नहरमा भरपुर पानी दिन नेपाल सरकारले नेपाली नहरको वृहत मर्मत सम्भार गरिरहेको छ । प्रत्येक ५० बर्षभित्र नहरको पुनर्संरचना गर्ने कार्य अन्तर्गत सरकारले ६० करोड रुपैयाँको बजेटमा नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणालीलाई व्यवस्थित गर्दै नहरको वृहत सरसफाई तथा मर्मत सम्भार कार्य गरिरहेको छ । जस अन्तर्गत नहरको सरसफाई लगायतका अधिकांश कार्य सम्पन्न भैसकेको छ ।
विगत लामो समयदेखि नहरको वृहत सफाई नभएको र नहरका गेट, साईफन, कुलो लगायतका संरचनाहरु जिर्ण भएर भत्किएकाले नहरमा आवश्यक मात्रामा पानी नआउने कारणले खेतको सिँचाइबाट किसानहरू बन्चित हुने गर्दथे । तर यस बर्षदेखि नहरमा वृहत सरसफाई र मर्मत सम्भारको कार्यले नहरमा भरपुर पानी आएपछि किसानहरू हर्षित भएका हुन् । नहरमा भरपुर पानी आएपछि किसानहरुलाई सहजै धानको रोपाई र सिँचाई गर्न निकै सहज भएको नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणाली जल उपभोक्ता समिति नवलपरासीका अध्यक्ष हैदर अलि मोमिनले जानकारी दिनुभयो।
नेपाल भारत गण्डक सम्झौता अनुसार भारत सरकारले जिल्लाको साविक २२ गाउँ विकास समितिका खेती क्षेत्रलाई सिँचाई हुने गरि वि.सं. २०३६ सालमा नहर सिँचाई प्रणाली बनाई नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । वि.सं २०२४ सालबाट नहरको संरचना बनाउने कार्य शुरु भई वि.स. २०३५ सालमा सम्पन्न गरि १ बर्ष भारत सरकारले नै आफै संचालन गरि नेपाल सरकारलाई हस्तान्तरण गरेकोे थियो ।
के के काम भयो अहिलेसम्म ?
नहर मर्मत र सरसफाइको अभावमा जीर्ण भएकाले ४३ वर्षपछि नेपाल सरकारले मुल नहर, शाखा नहर र माईनरको सरसफाई र मर्मत सम्भारका लागि १ अर्ब ६० करोड रुपैयाँको डिपिआर स्वीकृत गरि कार्य अगाडी बढाएको छ जस अन्तर्गत हाल ६० करोड रुपैया बराबरको ४ वटा ठेक्का लगाई नहरको वृहत सरसफाई तथा मर्मत कार्यहरु भैरहेको नेपाल गण्डक पश्चिम नहर सिँचाई व्यवस्थापन कार्यालय नवलपरासीका प्रमुख रन्धीर कुमार शाहले जानकारी दिनुभयो । कार्यालय प्रमुख शाहका अनुसार अहिलेसम्म कुल कामको ६० प्रतिशत कार्य सम्पन्न भएको र ४० प्रतिशत कार्य अझै हुन बाकी रहेको जानकारी दिनुभयो ।
६० प्रतिशत कार्यमा त्रिवेणी देखि सनईसम्म ३२ किलोमिटरको मुल नहर सरसफाई गरिएको छ भने शाखा नहर तथा माईनरहरु १८ किलोमिटर सरसफाई गरिएको छ । त्यस्तै विभिन्न नहरमा ८ किलोमिटर पक्की लानिङको कार्य गरिएको छ । यता मुल तथा विभिन्न शाखा नहर र माईनरहरुमा गरि ३० वटा नयाँ गेट लगाइएको र कृषि बाटोका लागि नहरमा १० वटा पक्की पुल समेत बनाइएको प्रमुख शाहले जानकारी दिनुभयो । नहरमा देखिँदै आएको सिल्टेशन समस्या समाधानका लागि नहरमा मुल धोकामै पोखरी खनेर सिल्टे झिक्ने र मुल धोकाको एउटा गेट पनि मर्मत गर्ने जस्ता मर्मतका थुप्रै कार्यहरु गर्न बाकी रहेको उहाँले बताउनुभयो ।
यस नहरले बर्दघाट, रामग्राम गरि २ नगरपालिका र सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन गरि ४ गाउँपालिकाको कुल १० हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाई हुदै आएको छ । यस गण्डक कमाण्ड क्षेत्रमा पुर्वदेखि पश्चिमसम्म ३२ किलोमिटर लामो १ वटा मुल नहर, ३ वटा शाखा नहर, ६ वटा माईनर नहर, २६ वटा एमसी, ६ वटा एस एफ डि र १६२ वटा एमएसडी रहेको छ ।
यस बाहेक खेतमा सजिलै पानी पुग्ने गरि सयौंको संख्यामा नाला कुलोहरु पनि छन तर किसानहरू आफै कुलोहरु मिची खेत बनाई सकेका छन् । नहरमा धान र गहुँ सिंचाईका समयमा पानी छोडिन गरिन्छ । यो बर्ष नहरको सरफाइ र मर्मतले समयमै नहरमा पानी आएको छ जसले गर्दा धान रोपाई र सिँचाइमा निकै सहज भएको कृषकहरुले बताएका छन् । यता कार्यालयले, विभिन्न पालिका तथा स्थानिय जनताहरुलाई गाउँघरको ढल नहरमा नमिसाउन र फोहर नफाल्न आग्रह गरेको छ । रातोपाटीबाट