दाङमा एकैदिन १ सय १७ टिपर नियन्त्रणमा

दाङ । प्रहरी प्रशासनले मंगलबार एकैदिन दाङ जिल्लाका विभिन्न स्थानबाट एक सय १७ वटा टिपर नियन्त्रणमा लियो। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सामाजिक सञ्जालमै जानकारी दिनुभयो।

दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले मंगलबार मात्रै टिपर कारबाहीबाट एक लाख ४० हजार राजश्व संकलन भएको बताउनुभयो। समातिएकामध्ये थप केहीले बुधबार तोकिएको जरिवाना तिरेर टिपर लैजाने क्रम जारी छ।

त्यस्तै, बुधबार बिहानै पनि प्रहरीले जिल्लाका विभिन्न स्थानबाट थप ३० देखि ३५ वटा टिपर नियन्त्रणमा लिइसकेको एसपी काफ्लेले बताउनुभयो। मंगलबार बिहानैदेखि प्रहरीले ओभर लोड बोक्ने टिपरलाई नियन्त्रणमा लिएको थियो। बुधबार बिहानैदेखि नै कागजात नभएका टिपरलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिन सुरू गरेको छ।

एकैदिन एक सय १७ वटा टिपर नियन्त्रणमा लिएपछि प्रहरी प्रशासनले टिपर व्यवसायीलाई घोराहीमा बोलाएर छलफल गर्‍यो। प्रजिअ कुरुम्बाङको अध्यक्षतामा भएको छलफलले ओभर लोड नबोक्ने, तीव गतिमा नकुदाउनेलगायत पाँच बुँदे सहमति गर्‍यो।

बढी भार बोक्ने टिपरको ढाला काट्ने तथा घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाले एक–एक वटा धर्मकाँटा निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउने निर्णय उक्त बैठकमा भएका थिए।

टिपर व्यवसायी, उद्योगी व्यवसायी, बंगलाचुलीका जनप्रतिनिधि, आन्दोलन समितिको संयुक्त बैठकको निर्णय अनुसार टिपरलाई बिहान ८ बजेदेखि साढे १० बजेसम्म, दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म र राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाउने निर्णय पनि भयो।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बंगलाचुली गाउँपालिकाका स्थानीयले सयौं टिपर एकैपटक गुड्दा बाटो जाम हुने गरेको, बालबालिका विद्यालय जाँदा समेत धुलो, धुँवाले सास्ती खेप्नु परेको, सडक जीर्ण भएको हुँदा अन्य सवारी साधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको, तीव्र गतिले दुर्घटना बढेको जस्ता गुनासोसहितको निवेदन आएपछि टिपरलाई नियन्त्रणमा लिनु परेको हो।

जिल्लामा रहेका घोराहीस्थित सगरमाथा सिमेन्ट, तुलसीपुरस्थित सोना सिमेन्ट, लमहीस्थित सर्माट सिमेन्ट उद्योगका लागि बंगलाचुली, रोल्पाको सीमाना क्षेत्र, सल्यान कपुरकोट हुँदै रोल्पा सिमेन्ट उद्योगबाट समेत चुनढुंगा ल्याउने गरिन्छ।

प्रहरीका अनुसार दैनिक सयौंको संख्यामा गुड्ने ती टिपरले क्षमताभन्दा दोब्बर बढीसम्म लोड बोकेका हुन्छन्।एसपी काफ्लेका अनुसार ६ चक्के टिपरले १६ टनसम्म, १० चक्केले २५ टनसम्म बोक्न पाउने नियम छ। तर, १६ चक्केले २५ टन र १० चक्केले ३५ टन बाकेको पाइएको उहाँले बताउनुभयो।

कम्पनीले निर्माण गरेको ढाला भन्दा थप १ फिटमाथि आफैं ढाला थपेर समेत बढी भार बोक्ने गरेको पाइएपछि टिपर नियन्त्रणमा लिनुपरेको एसपी काफ्लेले तर्क गर्नुभयो।

व्यवसायी पनि ओभर लोड बोकेको स्वीकार गर्छन्। तर, उनीहरू त्यो रहर नभई बाध्यता भएको बताउँछन्। सिमेन्ट उद्योगहरूले फाइदाका लागि आफूहरूलाई ओभरलोड बोक्न बाध्य पार्ने गरेको तर्क टिपर व्यवसायीको छ।

‘हामी हाम्रा गाडीलाई जति हुन्छ कम लोड बोकाउन खोज्छौं,’ एक व्यवसायीले भने, ‘तर, प्रतिस्पर्धाका कारण उद्योगहरूले हामीलाई बढी लोड बोक्न बाध्य पारेका छन्।’टिपर व्यवसायीले आफूहरूलाई डर त्रास पैदा गरेर महिनाबारी असुल्ने नाटक मात्रै भएको आरोप लगाए।

‘अहिलेसम्म हामीले प्रहरी प्रशासनका उच्च अधिकारीहरूलाई महिनावारी तिर्दै आएका छौं,’ ती व्यवसायीले भने, ‘नयाँ/नयाँ अधिकारीहरू सरूवा भएका आएका छन् र उनीहरूले सोझै पैसा माग्न नसकेर त्यसकै लागि लाइन मिलाउन हामीलाई तर्साइरहेका हुन् भन्ने मैले बुझेको छु।’टिपरलाई प्रहरी प्रशासनले दुहुनो गाईजस्तै बनाउने खोजेको ती व्यवसायीले आरोप लगाए।

‘कार चढ्नेहरू, प्राइभेट गाडी चढ्नेहरूलाई कहीँनेर चेकजाँच हुँदैन,’ उनले भने, ‘तुलसीपुर–घोराही रोडमा मात्रै हाम्रा टिपरहरू चेकजाँचको नाममा सात ठाउँ रोकिन्छन् र पैसा असुलिन्छ।’दुई जना प्रहरी आएर मनपरी गाडी रोक्ने, कागज पत्र माग्ने र त्यसपछि साहुलाई फोन गराएर खुलेयाम रकम माग्ने गरेको ती व्यवसायीले बताए।

‘उनीहरूले हामीसँगको फोनमा खुलेयाम उच्च प्रहरी र प्रशासन अधिकारीको नाम लिँदै किन, महिनावारी नबुझाएको भनेर प्रश्न गर्छन्,’ ती व्यवसायीले भने, ‘यसअघि सम्म हामीबाट त्यसैगरी असुल्दै आइएको छ र अहिले पनि त्यसैको लागि लाइन मिलाउन खोजिएको हो भन्ने मलाई लाग्छ।’

पछिल्लो समय बाहिरका टिपर पनि सञ्चालन हुने गरेको हुँदा स्वर्गद्वारी टिपर यातायात प्रालिले महिनावारी बुझाउन नगएको र त्यही भएर आफूहरूलाई तर्साएर फेरि महिनावारी असुल्न नाटक मञ्चन भइरहेको उनको आरोप छ।

दाङमा स्वर्गद्वारी टिपर यातायात प्रालि मार्फत टिपर सञ्चालन हुँदै आएका छन्। जसमा साढे दुई सय जति टिपर दर्ता छन्। तर, टिपर व्यवसायीले निजी समेत गरी झन्डै चार सयको हाराहारीमा जिल्लामा टिपर सञ्चालनमा रहेको बताउँछन्। प्रहरी भने कम्पनीबाहेक निजी समेत गरी जिल्लामा ६र७ सयको संख्यामा टिपर सञ्चालन हुँदै आएको बताउँछ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार