काठमाडौँ । भैरहवा–रुपन्देही जिल्लामा बैंक तथा वित्तीय संस्थाको लगानी सबैभन्दा बढी थोक तथा खुद्रा व्यापारमा रहेको पाईएको छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका अनुसार बैंक तथा वित्तीय संस्थाले रुपन्देहीमा कुल लगानी मध्ये ४९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ थोक तथा खुद्रा व्यापारमा लगानी गरेका छन् । यो तथ्यांक २०७७ पुस मसान्तसम्मको हो । २०७७ असार मसान्तसम्म रुपन्देहीको सबै क्षेत्रमा गरी १ खर्ब ९७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् ।
अहिले बैंक तथा वित्तीय संस्थाको लगानी वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा लगानी अझै बढी छ । गत आर्थिक वर्ष २०७७-०७८को पुस मसान्तसम्म रुपन्देहीको सबै क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी २ खर्ब १४ अर्ब लगानी ९६ करोड लगानी रहेकोमा थोक तथा खुद्रा व्यापारमा मात्रै ४९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ छ । यो लगानीमा रहेको अंक रहेको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उप–निर्देशक गुलाव धवलले बताए ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने विभिन्न प्रकृतिका कर्जामध्ये थोक तथा खुद्रा व्यापारमा सबैभन्दा बढी लगानी हुनुमा अन्य क्षेत्रमा जस्तो बढी जोखिम नहुने, प्राय तयारी वस्तुहरु ल्याएर बेचिने ट्रेडिङको व्यापार भएकाले पनि यसमा लगानी बढी भएको उप–निर्देशक धवलले बताए । थोक तथा खुद्रा व्यवसायमा खाद्यान्न पसल, किराना, मोबाइल, इलोक्ट्रोनिक्स, कोल्डस्टोर, मदिरा पसल, फेन्सी, जुत्ता, हार्डवेयर, दलहन, तेलहनलगायतका व्यवसाय छन् ।
अन्य क्षेत्रमा लगानी भन्दा थोक तथा खुद्रा व्यवसायमा लगानी बढी भएको लक्ष्मी बैंक भैरहवा शाखाका प्रबन्धक सन्तोष सापकोटाले बताए । अन्य प्रकृतिका उद्योग व्यवसायमा भन्दा थोक तथा खुद्रा व्यवसायमा प्राय नगद कारोबार हुने र व्यवसायमा जोखिम पनि न्यून रहेको कारण लगानी बढिरहेको बताए ।
अन्य क्षेत्र जस्तो खाद्य तथा गैरखाद्य उद्योग, होटल रेष्टुरेन्टमा लगानी गर्ने वित्तिकै प्रतिफल नआउने अर्थात सञ्चालन हुनै समय लाग्ने तर थोक तथा खुद्रा व्यवसायमा छोटो समयमै व्यवसाय सञ्चालनको अवस्थामा ल्याई तयारी सामान नै बिक्री गर्ने भएकाले यो व्यवसायमा आकर्षण बढ्दै गएको प्रबन्धक सापकोटाको भनाइ छ । बैंकहरुले पनि थोक तथा खुद्रा व्यवसायमा लगानीलाई सुरक्षित मानेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्यले अन्य सानातिना मझौला उद्योग, ठूला उद्योग भन्दा थोक तथा खुद्रा व्यवसाय सुरु गरे लगत्तै प्रतिफल आउने भएकाले आकर्षण र लगानी बढिरहेको बताए ।
“उद्योग, होटल रेष्टुरेन्टहरुमा पूर्वाधार खडा गरी बनाएर मात्र सञ्चालनमा आउन समय लाग्ने अझ उद्योगहरुमा कच्चा सामान ल्याएर बनाउनु पर्ने तर, यसमा सुरु गरेलगत्तै प्रतिफल आउने जस्ता कारण र सानो पुँजीबाट पनि सुरु सकिन्छ, त्यसैले पनि दिन प्रतिदिन लगानी बढेको छ” आचार्यले भने । थोक तथा खुद्रा व्यापार पछि रुपन्देहीमा गैरखाद्य उद्योगमा ३० अर्ब ५३ करोड ५० लाख, कृिषमा १५ अर्ब २८ करोड ८९ लाख, पर्यटनमा ११ अर्ब ४९ करोड १० लाख रुपैयाँ लगायत विभिन्न क्षेत्रमा कर्जा लगानी छन् । त्यसो त होम, अटो, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा पनि यहाँका बैंकहरुको लगानी रहेको छ ।
रुपन्देहीमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पनि बाक्लो रहेको छ । रुपन्देहीमा पछिल्लो समयमासम्म वाणिज्य बैंक १९३, विकास बैंक ९५, वित्त कम्पनी १८ र लघुवित्त १७८ गरी ४ सय ८४ संस्था कृयासिल रहेका छन् । अझ सहकारीको लगानी पनि थोक तथा खुद्रा व्यापारमा ठूलो रहेको छ । जिल्लाको बुटवल तथा भैरहवा थोक तथा खुद्रा व्यापारका लागि पश्चिम नेपालकै मुख्य बजार हुन् । karobardailyबाट