बुस्टर डोज खोप दुई करोडभन्दा बढी मात्रा चाहिने सरकारको प्रक्षेपण

काठमाडौँ । सरकारले बुस्टर डोज खोपका लागि थप दुई करोडभन्दा बढी मात्रा चाहिने प्रारम्भिक प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप भण्डारण र पाइपलाइनमा रहेको खोपबाहेक बुस्टर डोजका लागि थप खोप दुई करोड मात्राभन्दा बढी चाहिने प्रक्षेपण गरेको हो ।

स्वास्थ्य मन्त्रालयले पूर्ण मात्रामा खोप लगाएका सबैजनालाई बुस्टर डोज दिने तयारी स्वरूप सो प्रक्षेपण गरेको हो । यद्यपि सरकारले बुस्टर डोज खोप खरिद प्रक्रिया भने अगाडि बढाएको छैन । विभागका एक कर्मचारीले भन्नुभयो, ‘बुस्टर डोज खोपका लागि अनुदानमा कति मात्रा प्राप्त गर्न सक्छौँ, त्यसबारेमा पहिला निर्क्योल गर्छौं । अनुदानबाट प्राप्त खोपले नपुग्ने अवस्था भएमा कति खरिद गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको छ ।’

सरकारले माघ ४ गतेदेखि अग्रपङ्क्तिमा रहेर काम गर्ने व्यक्ति, ६० वर्षमाथिका र दीर्घरोगीलाई बुस्टर डोज खोप दिन सुरु गरिसकेको छ । बुस्टर डोज खोप दिँदा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन सुरु गरेको छ । मन्त्रालयका अनुसार केही ठाउँमा अभियान सुरु भइरहे पनि अबको एक सातापछि सबै खोप केन्द्रबाट प्राथमिकतामा पर्नेले बुस्टर डोज सक्छन् ।

चैत मसान्तसम्ममा १८ वर्षभन्दा माथिका पूर्ण जनसङ्ख्यालाई खोप दिइसक्ने सरकारको लक्ष्य छ । भण्डारण र पाइपलाइनमा रहेको खोपले लक्षित समूहलाई पुग्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले बताउनुभयो । बुस्टर डोज दिनका लागि पाइपलाइनमा रहेका बाहेक थप खोपको आवश्यक पर्ने भएकाले बुस्टर डोज खोपका लागि आवश्यक तयारीमा जुटिरहेको प्रमुख डा. चौरसियाको भनाइ छ । ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार