सिक्टा सिँचाइ आयोजना : समयमै सम्पन्न भएन पूर्वी नहर

बाँके । सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर निर्माण कार्यमा ढिलासुस्ती भएको छ। चौथोपटक थपिएको म्यादभित्रै पनि नहर निर्माण सम्पन्न हुने अनिश्चित देखिएको छ। २०७७ मंसिर २ गतेदेखि पूर्वी नहर निर्माणको काम सुरु भएको थियो। त्यसयता उक्त नहरका लागि चारपटक म्याद थपिएको छ।

अब आयोजनाले २०७८ चैत ३० गतेसम्म नहर निर्माण सम्पन्न गर्नुपर्ने छ । २०७८ असार २७ गतेका लागि तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न नसकेपछि चैत मसान्तसम्मका लागि म्याद थपिएको सिक्टा सिँचाइ आयोजना नेपालगन्जले जनाएको छ। पूर्वी नहरको निर्माण जिम्मा कालीका कुमार जेभीले पाएको छ।
अहिले फिजिकलरुपमा ७९.३ प्रतिशत मात्र काम भएको छ। बाँकी काम चैत मसान्तभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई कठिन छ।

सार्वजनिक खरिद ऐनको दफा ५६ बमोजिमको अवस्था परे खरिद सम्झौताबमोजिमको काम त्यस्तो सम्झौताको अवधिभित्र पूरा गर्न नसकिने भएमा सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताले कारण खुलाइ खरिद सम्झौताको म्याद सकिनु कम्तिमा २१ दिन अगावै सम्बन्धित सार्वजनिक निकायमा अवधि थपको लागि निवेदन दिनुपर्ने उल्लेख गरिएको छ।

सोहीअनुसार पूर्वी नहर निर्माणका लागि चारपटकसम्म म्याद थप गरिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर विशाल यादवले जनाउनुभयो। ‘सार्वजनिक खरिद ऐनअनुसार नै निर्माण कार्यका लागि म्याद थपिएको हो,’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय भने कोभिड–१९ (कोरोना भाइरस) का कारण आयोजनाको म्याद थपिएको हो।’ उहाँले अन्य कारण भए पनि खुलाउन भने चाहनुभएन ।

उपनियम (१) र (१क) बमोजिम निवेदन प्राप्त भएपछि सम्बन्धित अधिकार प्राप्त अधिकारीले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्न वा गराउन सक्नेछ। त्यसरी जाँचबुझ गर्दा वा गराउँदा निजले चारवटा कुरामा विचार गर्नेपर्नेछ । सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताले खरिद सम्झौताबमोजिम काम समयमै सम्पन्न गर्न भरमग्दुर प्रयास गरेको थियो वा थिएन, सम्बन्धित सार्वजनिक निकायले निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदातालाई सम्झौताबमोजिम उपलब्ध गराउनु पर्ने कुरा उपलब्ध गराएको थियो वा थिएन, ऐनको दफा ६७क बमोजिम कागजात झिकाएको कारणबाट कामलाई ढिलाइ भएको हो वा होइन र काबुबाहिरको परिस्थितिको कारणबाट काममा ढिलाइ भएको हो वा होइनने भन्ने कुराको विचार गर्न सार्वजनिक खरिद ऐनमा उल्लेख गरिएको छ। तर सूचना अधिकारी यावदले यी कुराहरु बताउन चाहनुभएन।

दफा६७ अनुसार तीन करोड रुपैयाँसम्मको राजपत्रांकित तृतीय श्रेणीको कार्यालय प्रमुख, सात करोड रुपैयाँसम्मको राजपत्रांकित द्वितीय श्रेणीको कार्यालय प्रमुख, १५ करोड रुपैयाँसम्मको राजपत्रांकित प्रथम श्रेणीको कार्यालय प्रमुख र १५ करोडभन्दा बढीको विभागीय प्रमुखले बोलपत्र स्वीकृत गर्ने अधिकारलाई हुन्छ।

राप्ती नदी पश्चिम (दायाँ) ३३ हजार सात सय ६६ हेक्टर र राप्तीपूर्व (बायाँ) नौ हजार हेक्टर गरी कूल ४२ हजार सात सय ६६ हेक्टरमा सिँचाइको लागि पानी उपलब्ध गराउन सकिने सिक्टा सिँचाइ आयोजनाले जनाएको छ। अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सोही जिल्लाका तत्कालीन ४३ गाउँ विकास समिति र नेपालगन्ज नगरपालिकाअन्तर्गतको ४२ हजार सात सय ६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइका लागि पानी उपलब्ध गराउने उद्देश्यले सिक्टा सिँचाइ आयोजना सुरु भएको थियो। जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइ पुयाउने लक्ष्य लिएको छ भने पूर्वी मूल नहरले राप्ती नदीको पूर्वी भेगको करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुयाउने लक्ष्य राखिएको छ।

समयमै आयोजना सम्पन्न नहुँदा किसानका खेतबारी बाँझै छन्। आफूहरु सिँचाइ गर्नबाट वञ्चित रहेको यस क्षेत्रका किसानहरुको भनाइ छ। पश्चिम नहरमा भने पानी सञ्चालन भएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी यादवले जनाउनुभयो । उहाँले भने निर्माण जिम्मा लिएको कम्पनीले काम गरिरहेकाले समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। ‘कोरोना भाइरस तथा अन्य प्रकोप र काममा बाधा नआउने परिस्थिति आएर असारसम्ममा पूर्वी नहरको काम सकिन्छ,’ उहाँले भन्नुभयो, ‘अहिले निर्माण जिम्मा लिएको कम्पनीले काम गरिरहेको छ।’ nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार