फेरिँदै दरबाङ बजारको मुहार

  साधन राम्जाली/धनिलाल गर्बुजा

दरबाङ ।  दरबाङ बजार पश्चिम म्याग्दीको प्रमुख र जिल्लाकै दोस्रो व्यापारिक केन्द हो । जिल्लाको दोस्रो सदरमुकामको नामले समेत चिनिने दरबाङ बजार सदरमुकाम बेनीदेखि २४ किलोमिटर दुरीमा रहेको छ ।धौलागिरी हिमालको प्रवेशद्धार समेत रहेको ऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव वस्तीको सुरुवाती चरणमा रहेजस्तो देखिन्थ्यो ।

यहाँका वासिन्दाहरु व्यापार व्यावसायमा कम र परम्परागत कृषिमा बढी महत्व दिन्थे । तर, अहिले समय फेरिएको छ । समयसँगै कोदो,मकै खेतीबाट जीवन गुजारा चलाउने दरबाङबासीको दैनिकी र जीवनस्तर पनि निकै ठूलो परिवर्तन भइसकेको छ । परम्परागत खेतीपाती होइन, व्यवसाय र आधुनिक जीवनशैली उनीहरूको दैनिकी बनेको छ ।

संघियता स्थापना पछि मालिका गाउँपालिकाको केन्द्र बनेसंगै दरबाङको स्वरुप फेरिन थालेको हो । यहाँ पुराना घर भत्किदै नयाँ बन्ने क्रम र केही नयाँ, केही पुराना संरचनाले भरिभराउ दरबाङले काचुली फेर्दै गरेको देखिन्छ । पछिल्लो समय विकसित हुँदै गएको दरबाङ बजारमा बैंक तथा वित्तिय संस्थाहरु खुल्ने क्रम बढेको छ । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको बेनी–दरबाङ सडकको स्तरोन्नतिको काम भैरहेको छ ।

बेनी –दरबाङ सडक कालोपत्रे भएमा आवत जावत र ढुवानी सहज बन्नुका साथै म्याग्दीको पश्चिमी क्षेत्रको पूर्वाधार, आर्थिक ,सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । दश बर्षे शसस्त्र युद्धबाट प्रभावित चार जिल्लालाई समेटेर बनाएको गुरिल्ला पदमार्गको समेत प्रवेशद्धार समेत दरबाङलाई मानिन्छ ।
युद्धको केन्द्रविन्दु मानिएको म्याग्दी, बागलुङ, रुकुम र रोल्पा जिल्लाका विभिन्न ग्रामिण बस्तीहरुलाई लक्षित गरी विस्तार गरिएको यो पदमार्ग प्रदेश नम्बर ४ र ५ को उत्कृष्ट पर्यटकीय गन्तब्य बन्न सक्ने देखिन्छ ।

द्धन्द्ध प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक स्तर उकास्न र बिदेशी पर्यटकहरुलाई युद्धकालिन दिनचर्या, बिकट बस्तीको जनजीवन, मगर संस्कृतीको अनुभव दिलाउन तथा माओबादीको सेल्टरलाई आधार बनाई पदमार्गको नामाकरण गरिएको थियो ।

रुटका अधिकांश क्षेत्र युद्धकालीन समयमा माओबादीको सेल्टर मानिन्छन् । जिल्लाको मालिका गाउँपालिकाको दरवाङलाई प्रवेशद्धार मानिएको पदमार्गमा धवलागिरि गाउँपालिकाको धारापानी,ताकम,मुना, लम्सुङ, मरेनी, जलजला, पूर्वी रुकुमको लुकुम, उपल्लो शेरा,बागलुङको निश्यापिढारे, ढोरपाटन, रोल्पाको सुनिचौर, ज्यलबाङ्ग, ढवाङ्ग लगाएतका क्षेत्र पदमार्ग भित्र पर्दछन् ।

सडकको कथा

विसं २०६३ सालमा ताराखेतबाट मोटरबाटो दरबाङ पु¥याइएको थियो । सडक निर्माण भएपछि पहिलेको तुलनामा अहिले यो ठाउँमा चमत्कारिक विकास भएको छ । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दिलिपकुमार शेरचन हुनुहुन्थ्यो । ३० लाख रुपैयाँ बजेटमा उक्त सडक पु¥याइएको थियो । बि.सं.२०४० सालमा दरबाङमा करिब १५ घर परिवार मात्र बसोबास गर्दथे ।सडक निर्माणमा शेरचनले व्यक्तिगत दुई लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

सडक विस्तार नहुँदा दरबाङ सहित जिल्लाका पश्चिम भेगका वासिन्दाहरु खच्चड र मान्छे मार्फत आवश्यक खाद्यान्न सामाग्री ढुवानी गर्दथे । “पाँच दशक पहिले यहाँ केही घरहरु मात्र थिए । उतिखेर घोडा ,खच्चड र मान्छे मार्फत सामान ढुवानी गरिन्थ्यो” उहाँले सम्झदैं भन्नुभयो,“अहिले त दरबाङमा गगनचुम्बी घरहरु बनेका छन् । गाउँ घरदैलोमै सडक पुगेका छन् ।”

सडक पु¥याउन तत्कालिन गाविस,तत्कालिन राज्य मन्त्री नारायणसिङ पुन सहित शेरचनका दुई छोरा,काठमाडौं र पोखरामा रहेका म्याग्देली लगायतको सहयोग रहेको उहाँ बताउनुहुन्छ । तत्कालिन निस्कोट गाबिस,ओखरबोट गाबिस ,देविस्थान गाबिसले एक÷एक लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए भने बिम गाविसले ६० हजार,दरबाङ गाबिसले ६० हजार ,बाबियाचौर गाबिसले ५५ हजार ,अर्मन गाबिसले ८० हजार र रुम गाबिसल ५९ हजार रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिकाको केन्द्र मात्र नभई व्यापारिक नाका भएकोले दरबाङ बजार व्यवस्थापनलाई दीगो बनाउन शहरी विकास योजना अनुसार डिपीआर बनाएर काम गर्न आवश्यक रहेको बताउनुहुन्छ । उहाँले शहरी विकास योजना अनुसार डिपिआर बनाउन आफूले पहल गर्ने समेत बताउनुभयो ।

“दरबाङ बजार गाउँपालिकाको केन्द्र मात्र नभई जिल्लाको दोस्रो सदरमुकाम तथा व्यापारिक केन्द्र हो”–उहाँले भन्नुभयो,“दरबाङ बजार व्यवस्थापनलाई दिगो बनाउन खानेपानी योजना ,सडक ,फोहोर ,बसपार्क ,प्रशासनीक कार्यालय स्थापना ,शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक छ ।”

उहाँका दरबाङ बजारमा उद्योगी र व्यवसायीहरुलाई टिकाउन स्टोर निर्माण र उद्योग ग्राम स्थापना गर्न आवश्यक रहेको उहाँको भनाई छ । दरबाङ बजारमा स्तरीय होटेल बनाउन सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । उद्योगी व्यापारीविच एकता आवश्यक रहेको छ ।

दरबाङमा सडक स्तरोन्नति ,नियमित विद्युत आपुर्ति संगै खानेपानी आयोजनालाई समेत व्यवस्थित बनाउन आवश्यक रहेको म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्ष लेकबहादुर पुन बताउनुहुन्छ ।

दरबाङ साविक १७ गाविसको मुख्य व्यापारिक केन्द्र हो । म्याग्दी नदीको कटान, अस्थायी सडक,विद्युत र खानेपानी आपुर्ति नियमित नहुँदा तथा यातायात अस्तव्यस्तताका कारण व्यवसायीहरुलाई असर परेको उहाँको भनाई छ ।

पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहेको यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न यस क्षेत्रमा सञ्चार माध्यमको आवश्यक रहेको अध्यक्ष पुनले बताउनुभयो । पर्यटन क्षेत्रको विकासको लागि गाउँपालिकाले प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ ।

दरबाङ हुँदै धौलागिरी ,गुर्जा ,चुरेन लगायत हिमाल आरोहणका लागि विदेशी पर्यटकीयहरु जाने गर्दछन् । दरबाङहुँदै म्याग्दी ,बागलुङ र रुकुम जिल्लाको सिमानामा पर्ने नेपालको एक मात्र ढोरपाटन शिकार आरक्ष पुग्ने गरिन्छ । दरबाङहुँदै बागलुङको तमानखोला ,ताराखोला समेत जान सकिन्छ ।

पहिरोले उजाडिएको त्यो बस्ती

२०४५ साल असोज ४ गते राति खसेको तत्कालिन निस्कोट गाविस १ स्थित साम्था पहिरोले निस्कोटको पैरेनी र छ्यारछ्यारे बस्ती नै उजाडीएको थियो । पहिरोले म्याग्दी खोला थुनिएर फुट्दा साविक दरबाङ गाविस वडा नम्बर १ स्थित छ्यारछ्यारे र निस्कोटको पैरेनीका बस्ती बगाएर नामोनिसाना मेटिनुका साथै एक सय १५ जना पुरिएका थिए ।

सोही पहिरोले पुरिएर दरबाङका जयश्वर सुवेदीका बुबा टिकाराम,आमा गौरी ,भाइहरु टंकनाथ ,धनलाल सुवेदी वेपत्ता हुनुभएको थियो । आफु ३५ बर्षको हुँदा सो घटना घटेको जयश्वर सुवेदी बताउनुहुन्छ । अहिले ६९ बर्ष पुग्नुभएका सुवेदीलाई त्यो रातको घटना भर्खरै जस्तो लाग्छ । बेपत्ता एक सय १५ जना मध्ये करिब ५–६ जनाको शव भेटिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा बेपत्ता कोही पनि भेटिएनन् । आफ्ना बुबाआमा ,दुई भाईहरु, प्रहरी चौकीका हवल्दारका परिवार सहित एक सय १५ जना पहिरोमा पुरिएको बताउनुभयो । “राति बस्ती माथिबाट खसेको पहिरोले पैरेनी बस्ती पुरियो भने खोला थुनिएर फुट्दा वारी दरबाङको छ्यारछ्यारे बजार समेत बगायो”–उहाँले भन्नुभयो, “मेरो बुबा आमा र दुई भाइहरु पनि पहिरोमा हराए । म र मेरो परिवार वारी दरबाङमा बस्ने भएकोले मात्र बाच्यौं ।” सुवेदीले त्यो घटना एक अकल्पनीय र अविश्मरणीय रहेको बताउनुहुन्छ । “राति पहिरो खसेपछि हारगुहार गरियो । रातको समय र पहिरोले खोला थुनिएपछि कसैको पनि उद्धार गर्न सकिएन”, मलिन हुँदै त्यो घटना सम्झेर भन्नुभयो,“प्रत्यक्षदर्शी हुनु बाहेक केही गर्न सकिएन ।” मालिका प्रेस साप्ताहिक पत्रिकाबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार