म्याग्दी । गतेमितिको त सम्झना रहेन, २०५८ सालको श्रावण महिना, शुक्रबारको कुरा थियो । तत्कालीन गाविस अध्यक्ष हरिकृष्ण श्रेष्ठजीको पहलमा एउटा अन्तरक्रिया को आयोजना गरिएको थियो ।
विषय थियो –स्कूल पाठशालाको नयाँ प्रबन्ध सम्बन्धी । बेनीको साँघुरो जमिन । कोचाकोच गरेर बसे पनि कति नै मान्छे पो अट्थे र ? उसै पनि सुविधा सम्पन्न शहर बजारमा बसोबास गर्ने मानिसहरुको संख्या नै कति थियो र नेपालमा ? ९० प्रतिशतभन्दा बढी मानिसहरु गाउँमै बस्छन् भनिन्थ्यो ।
यसैले शहरबजारको समस्यालाई सिङ्गो देशको समस्या भन्न मिल्ने जमाना थिएन । भुक्तभोगीको संख्या जतिसुकै होस् समस्या त आखिर समस्या नै हो । त्यतिखेर बेनी एउटा समस्यातिर उन्मुख थियो ।
बोर्डिङ बन्दको हल्लाले बेनीबजारलाई हल्लाई दिएको रहेछ । स्कुल सञ्चालकहरुलाई मात्रै होइन, अभिभावकहरुलाई समेत तर्साएको रहेछ । अप्ठयारोमा पारिदिएको रहेछ । उसो त मान्छे स्वार्थी प्राणी हो । स्वार्थरहित मान्छे नै हुदैन । तैपनि राम्रो कुरा के हो भने स्वार्थ नभैदिएका भए मान्छे आजको अवस्थामा हुदैनथ्यो होला । म, मेरो, मलाई भन्ने भावनाले नै मान्छेलाई निरन्तर प्रगतिपथमा कुदाएको कुरा सत्य हो ।
यसो भन्न सकिन्छ स्वार्थ भन्ने तत्व नभैदिएका भए मानिस मान्छेजस्तै रहने थिएन कि ? मान्छेलाई मान्छेजस्तो बनाउनमा उसमा अन्तर्निहीत स्वार्थको अहम भूमिका रहेको छ । निजी स्कूलसँग मेरो कुनै स्वार्थ जोडिएको थिएन । न छोराछोरी पढाउनु थियो, न मेरो लगानी थियो ।
लाटोले पनि बुझेको कुरा के हो भने निजी बोर्डिङ स्कूलहरु लगानी कर्ताको निजी लाभका लागि खुलेका हुन् । बजारको आर्थिक भाषामा “दलाल पूँजि”मा चल्ने उद्यम हो बोर्डिङ स्कूल । यतिबेलाको कुरा परैरहोस्, त्यतिबेलासम्म बोर्डिङ स्कूलहरु अर्थात निजी स्कूलहरु समाजको अनिवार्य आवश्यकता बनिसकेका थिए । चलिरहेका उद्यमहरु आकस्मिक रुपमा बन्द हुँदा समाजका धेरै तप्कालाई अनेक किसिमबाट असर गर्ने नै भयो । जसले जे भने पनि मुख्य असर बोर्डिङ सञ्चालकहरुलाई पर्नु स्वभाविक थियो । अन्तर्कृयामा उनीहरुको मर्का अभिव्यक्त हुने नै भयो ।
बोडिृङ सञ्चालकहरु मर्माहत र आक्रोसित हुनु स्वभाविक थियो । “बोल बोल मछली मुखभरी पानी” भनेजस्तो सामाजिक असुरक्षाका कारणले मात्र निरीह बनेर चुप लागेका थिए बोर्डिङका मालिकहरु ।
जसले जे् भने पनि “हजुर हजुर” गर्न वाध्य बनेका थिए । त्यो समूहले माओवादीहरुले बन्द गर्नुपर्छ भन्दा पनि “हजुर” भन्थ्यो, प्रशासनले खोल्नुपर्छ भन्दा पनि “हजुर” भन्थ्यो । प्रशासनको कुरा सुनेर खुसी हुनसक्ने परिस्थिति थिएन । त्यतिबेलासम्म सुरक्षा संयन्त्र पूर्णतः विफल भैसकेको थियो सामाजिक सुरक्षाको प्रत्याभूति गर्छु भनेर अघि सर्नुको सट्टा सुरक्षासंयन्त्रले बोर्डिङ सञ्चालक र अभिभावक विद्यार्थीहरुलाई आन्दोलनमा उत्रन उक्साउँथ्यो, माओवदीको विरोधमा उभिन हौस्याउँथ्यो । समस्या बोर्डिङको मात्र थिएन । आन्दोलनमा उत्रनुपर्ने, विरोध र विद्रोह गर्नु पर्ने कारणहरु मुलुकमा कति थिए, थिए । अन्याय, अत्याचार, भ्रष्टाचार, अव्यवस्था, मनपरितन्त्र, घुसपिस, कालोबजारी आदि इत्यादि के ले पिरोलेको थिएन र मान्छेहरुलाई ?
गाउँघरतिर फाट्टफुट्ट खोलिएका निजी स्कुलहरु बन्द भैसकेका थिए । त्यसैले म्याग्दीको सन्दर्भमा समस्या बेनीबजारको मात्र बनेको थियो । बेनीबजारभित्र पनि जम्मा निजी स्कूलहरुको संख्या चार मात्र थियो । ती चारवटा स्कूल बन्द गराउनसक्दा माओवादीको अभियान सफल हुन्थ्यो । त्यसको विकल्पको रुपमा विद्यमान प्रकाश माविलाई दोब्बर विद्यार्थी धान्नेगरी क्षमता विस्तार गर्ने, बेनी सामुदायिक स्कूलको स्तरोन्नतत गरेर मावि सञ्चालन गर्ने । अर्थुङ्गेको जामुनाखर्क निमाविलाई माध्यमिक स्कूल बनाउने र गलेश्वरा बजारमा एउटा थप हाइस्कूल चलाउने हो भने तत्कालको मात्र होइन आगामी १५÷२० वर्षको आवश्यकता सम्बोधन हुनसक्ने अनुमान गरिएको थियो ।
तर नेपाली समाजमा खासगरेर शहरबजारतिर एउटा अनौठो परनिर्भताको बानी लागिसकेको रहेछ । खासगरेर स्कुलहरु समुदायले चलाउने बानी हटिसकेको रहेछ । निजी स्कूल खुल्नुभन्दा पहिले स्कुल विद्यालयहरुको सञ्चालन व्यवस्थापनमा स्थानीय बासिन्दाहरुको महत्वपूर्ण भूमिका रहने गर्दथ्यो । भवन, फर्निचर, मसलन्द खर्च आदि ईत्यादि सबै भौतिक आवश्यकताहरु परिपूर्तिको प्रबन्ध गर्ने उत्तरदायित्व अभिभावकहरुको मानिन्थ्यो ।
सीमित शिक्षकहरुको तलब भत्ता बाहेक अन्य कामको लागि धेर थोर पटके सहायताको रुपमा आर्थिक अनुदान दिएर सरकार उम्कन्थ्यो ! अर्थात देशभर स्कूल सञ्चालनमा अभिभावकहरुको महत्वपूर्ण दायित्व रहने गथ्र्यो । निजी स्कूलहरुले त्यो दायित्वबाट समाजलाई मुक्त गरिदिएको रहेछ । त्यसैले बजारका अभिभावकहरुसमेत बोर्डिङको विकल्प खोज्नेकुराप्रति सहमत थिएनन् । त्यसले बोर्डिङवालाहरुलाइै दरिलो ढाढस मिलेको थियो ।
माओवादी हस्तक्षेपका कारणले बजारबासीहरुले फेरि स्कुलहरुको दायित्व बोक्नु पर्ने सम्भावना बढेर गएको थियो । बोर्डिङ्वालाहरुको त लगानी डुब्ने सम्भावना स्पष्ट देखिएको थियो । विद्यार्थी अभिभावकहरुका लागि पनि विकल्प खोज्नु पर्ने झन्झट आईलागेको थियो ।
नीजीक्षेत्रले शिक्षाको ठूलै हिस्सा स्याहारिदिनाले सरकारसँगसँगै बजारीया समाज पनि झन्झटबाट मुक्त भएको रहेछ । खासगरेर, समाजका अगुवाहरुको काँधबाट एउटा महत्वपूर्ण र गरुङ्गो सामाजिक जिम्मेवारी पन्छिएको रहेछ । बजारका सामाजिक कार्यकर्ताहरुलाई फेरि एकचोटि कुना कन्दरा दुर्गम गाउँका बासिन्दाहरुले जस्तै शिक्षाक्षेत्रको विशेष उत्तरदायित्व लिनु पर्ने सम्भावनाले तर्साएको थियो । बोर्डिङ बन्दको अभियानले उत्पन्न गरेको समस्या साँच्चै नै सोचेभन्दा गम्भीर बन्दै गएको थियो ।
त्यो जमानामा सरकारीे नीतिले त कृषकहरुलाई खेती नगर भनेजस्तो लाग्थ्यो । रोगीलाई उपचार नगर भनेजस्तो देखिन्थ्यो । उपभोक्तालाई बजार नजाउ भनेजस्तो लाग्थ्यो । वेरोजगारलाई काम नखोज भनेजस्तो लाग्थ्यो ।
गरिबनिमुखालाई नखाउ भनेजस्तो लाग्थ्यो । तैपनि नेपालीहरुले सहे भोगेकै थिए । कतै कुनै आवाज उठदैनथ्यो । असन्तोष सार्वजनिकरुपमा प्रकट भएको थिएन । समाज आन्दोलित थिएन । सायद, समाज मस्त निद्रामा थियो । विपीबाबुले भन्नुहुन्थ्यो रे–‘मान्छे ब्रेनले चल्छ ।’ सभ्रान्त, सामन्त, जमिन्दार वर्गका मान्छेहरुलाई ‘ब्रेन चलाउने उर्जा ब्रेडले दिन्छ’ भन्नेकुरा थाहा भएपनि ब्रेड आर्जन गर्न सर्वसाधारण गरिब गुरुवालाई कति गाह्रो हुन्छ भन्ने कुरा थाहा हुँदैन । खुकुरीको चोटको मर्म बुझ्न त अचानु हुनु पर्छ ।
‘खान पाईन सरकार’ भनेर विन्ती चढाउने गरीबलाई ‘दुध र भातले निर्वाह गर’ भन्ने सल्लाह दिएथ्यो रे कुन चाहीँ हो एउटा मूर्ख राजाले ! त्यतिखेरको सरकार त्यही मुढ र अविवेकी राजा जस्तो भएको थियो । जनता निरीह मात्र होइन, मुक बनेको थियो । साँचै त्यतिखेर बोर्डिङ स्कूलहरु बन्द भएका भए नेपालीहरुले विरोध गर्ने थिएनन् । बन्द भएको भएै हुनसक्थ्यो । निजी स्कूलको रोग सदाको लागि निर्मूल हुन पनि सक्थ्यो ।
अखिल क्रान्तिकारी र बेनीका अभिभावकहरुबीच चारबुँदे सहमित भएको थियो भन्ने सुनिएको थियो । त्यही सन्दर्भमा आयोजित भएको थियो प्रारम्भिक अन्तक्र्रियाको कार्यक्रम ।
कार्यक्रममा बजारबासी भद्रभलाद्मी, स्कूल सञ्चालक र सचेत अभिभावकहरुको उपस्थ्ािित थियो । समस्या समाधानको लागि होइन, चारबुँदे सहमति कसरी कार्यान्वयन गर्ने भनेर विचारविमर्शका लागि भेला बोलाइएको थियो ।
विचार विमर्श र शिक्षाको दायित्व समाजले लिने सन्दर्भमै निमावि कक्षामै सीमित रहेका बेनी सामुदायिक स्कूल र अर्थुङ्गेको जामुनाखर्क निमाविको स्तरोन्नति भएको हो । सामुदायिक विद्यालयहरुको नमूना भन्न मिल्नेगरी चलेका ती दुई विद्यालय माओवादी आन्दोलनका देन हुन् भन्न कञ्जुस्याई गर्नु बेइमानी हुन्छ होला । माओवादीहरुले त्यसरी नच्यापेका भए ती दुई स्कुलहरुको सतरोन्नतति हुने सम्भावना क्षीण थियो ।
संयोग भन्नुपर्छ उक्त दिनको भेलामा क्रान्तिकारी विद्यार्थी प्रतिनिधिको रुपमा एकजना भलाद्मीको पनि उपस्थिति थियो । व्यक्तिगत तवरमा उनीसँग मेरो पूर्व परिचय थिएन र पछि पनि परिचय भएन । त्यस्तो संयोग नै जुरेन । तैपनि उनको नाम रुप आजपर्यन्त मेरो स्मरणमा जस्ताको तस्तै छ ।
घरभित्र कुकुर बलियो भनेजस्तो, बजारभित्रको जमघट, बोर्डिङ सञ्चालकहरुको बोली चर्कै थियो । बजारको टाँठाबाठाहरु उनीहरुकै पक्षमा हुने नै भए । पुलिस प्रशासन पनि उनीहरुकै पक्षमा थिए । त्यसैले बजारभित्र उनीहरुको पक्ष गरुङ्गो थियो । तैपनि रोइ, कराई, धाक, घुर्की, धम्की सबै चलेको थियो । एउटा कुनामा एकजना स्याम वर्णका किशोर चुपचाप बसेका थिए । सबैको कचकच सुनिसकेपछि आफ्नो पक्षको कुरा राख्ने सन्दर्भमा उनी उत्तिकै गम्भीर पनि थिए भन्ने कुराको खुलासा भयो । चारबुँदे सहमति हरमूल्यमा कार्यान्वयन गराउने पक्षमा उनी दृढ देखिन्थे । विषय गम्भीर थियो । बजारको सन्दर्भमा अप्ठेरो पनि थियो । बोर्डिङवालाहरु क्रमबद्धरुपमा कक्षा बन्दै गर्दै जाने घाटाको व्यवशायको निमित्त तयार थिएनन्, हुने कुरा पनि भएन । एकैपटकमा स्कूलहरु बन्द गर्दा स्थानीय सामुदायिक स्कुलहरु विद्यार्थीको चाप थेग्न सक्ने अवस्थामा थिएनन् ।
बोर्डिङ स्कूल बन्द गराउने अभियान टुङ्गोमा पुगेकै थिएन । तत्काल पुग्ने सम्भावना देखिदैनथ्यो । रात रहे अग्राख पलाउला भन्ने आशाले कक्षाहरु क्रमबद्ध रुपमा बन्द गराउँदै जाने विषयमा निजि स्कूल सञ्चालकहरु लचिलो बन्दै थिए । वार्तालाप चलिरहेकै थियो । द्वन्द थप चर्किदै गयो । द्वन्दमा सेना सामेल भयो । हरेक जिल्ला जिल्लामा सेनाको टुकडी तैनाथ हुनथाल्यो । स्वभावतः म्याग्दीमा पनि सेनाको टुकडी स्थापित गरियो । सेनाको उपस्थितिपछि द्वन्द झन चर्किैयो । मार्ने मर्ने सिलसिला पनि चर्कियो । सेनाले मान्छे मार्न थाल्यो । माओावदीले पनि मार्न थाले । त्यही सन्दर्भमा एकदिन घार गाउँबाट समातिएका ६ जना चिचिला विद्यार्थीहरुलाई खिबाङ उकालेर सेनाले मारेको खबर सुनियो । मारिनेहरुमा तिनै स्यामवर्णी जगत खड्का पनि परेछन् ।
समय धेरै बितिसक्यो । आफू पनि बेनीमा अडिन सकिएन । विस्थापित हुनुपर्ने भयो । बेनी छोडेको २० वर्ष नाघिसकेछ । बेनी छोडे पनि त्यतिबेलाको परिस्थिति सधै मेरो वरिपरि घुमिरहेजस्तो लागिरहन्छ ।
त्यतिखेरका एक एक घटना जीवन्त बनेर आँखासामु उभिन्छन् । र त्यो चित्रमा ती एकदिन दुईचार घन्टा मेरो दृष्टिविन्दुमा परेका, अनजान र अपरिचित व्यक्ति अर्थात बोलचालको भाषामा भन्नुपर्दा केटाकेटी, ज्यामरुके जगत खड्का सबभन्दा टडकारो बनेर उभिन्छन् । उनको वरिपरि कतै उही घटनामा परेकी सिर्जना खड्काको धमिलो तस्वीर पनि दृश्यमान हुन्छ ।
विचार आआफ्नै हो । मुण्ड, मुण्ड बुद्धि ! द्वन्दले म्याग्दीमा निकै ठूलो जनधनको क्षति पु¥यायो । दर्जनौं मानिसहरु मारिए । सबैको जीवन अमूल्य थियो नै तर किन हो कुन्नी मेरो मनले द्वन्दकालमा म्याग्दीले व्यहोरेको सबभन्दा ठूलो क्षति घार खिबाङमा मञ्चन भएको विद्यार्थी हत्याकाण्ड हो जस्तो लाग्छ ।
नढाँटिकन भन्नुपर्दा नेपाली सेनाका द्वन्दमा सामेल भएका नभएका आफन्तहरुसंग जम्का भेट हुँदा उनीहरुको निधारमा मेरा गाउँले ती निरीह, अबोध, निष्कलङक र होनहार विद्यार्थी भाइबहिनीहरुको रगतको टाटो स्पष्ट देखिएजस्तो लाग्छ र त्यसलाई भ्रम मान्न मनले पटक्कै मान्दैन । मालिका प्रेस साप्ताहिकबाट