म्याग्दीका सुवासलाई आमाको नामबाट नागरिकता प्रदान

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दीको बेनी नगरपालिका–२, खबराका सुवास घिमिरेले ११ वर्षको प्रतिक्षापछि २७ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले घिमिरेलाई नागरिकता प्रदान गर्नुभएको हो । बुवाको पहिचान नभएका घिमिरेले नागरिकता प्राप्त गर्न सक्नुभएको थिएन् ।१६ वर्षको उमेर हुँदादेखि गरेको प्रयास सफल भएकोमा घिमिरेले खुसी व्यक्त गर्नुभयो । अनुकुल नियम नहुँदा सुवासले आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्नुभएको थिएन् ।सुवासलाई उहाँकी आमा कमला घिमिरेको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । नागरिकताका लागि सुवासले तीन वर्षअघि सबै प्रक्रीया पुरा गरेर आवेदन पेश गर्नुभएको थियो ।

नागरिकता ऐन, २०६३ को दोस्रो संसोधन २०८२ तथा नियमावलीको चौथो संसोधन २०८२ अनुसार सुवासलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महशुस गरेको सुवासले प्रतिक्रिया दिनुभयो । शारिरिक अपाङ्गता समेत भएका सुवास सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनुभएको थियो ।रोजगारिको अवसर र बैंक खाता सञ्चालन गर्न नपाउँदा सुवासको दैनिकी असहज भएको थियो । सुवास र उहाँकी आमा कमला आफन्तको घरमा आश्रय लिएर बस्नुभएको छ । उहाँहरुको आफ्नै घर छैन् । सुवास कमलाका कान्छा छोरा हुनुहुन्छ । हाल भारतमा कार्यरत कमलाका जेठा र माइला छोराले भने नागरिकता बनाउनुभएको छ । साइला छोरा अझै नागरिकता बिहीन हुनुहुन्छ ।

नेपाल नागरिकता (चौथो संसोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि बेनीका मिर खान, यास्मीन बेगम र मालिका गाउँपालिका–५ ,देविस्थानकी सिमा पुनलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो ।थप केही सेवाग्राहीहरुले आमाको नामबाट नागरिकता प्राप्त गर्नका लागि आवेदन पेश गरेका छन् । प्राप्त भएको आवेदनको छानविन र आवश्यक प्रक्रीया पुरा गरेर नागरिकता प्रदान गरिने सहायक प्रजिअ आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार