सदरमुकाममै अड्किए गाउँका ‘सिंहदरबार’

जाजरकोट ,शनिबार भदौ २१ गते । स्थानीय तहहरू बनेपछि सिंहदरबारको अधिकार गाउँसम्म पुग्यो त रु जाजरकोटलाई सोध्नुहुन्छ भने सदरमुकामसम्म चाहिँ पुग्यो।

सदरमुकाममा काम लिएर आएका सेवाग्राहीहरू।

गठन भएको दुई वर्षसम्म पनि जाजरकोटका तीन गाउँपालिका कार्यालयले सदरमुकामबाटै सेवा प्रवाह गरिरहेका छन्। कुशे, बारेकोट र जुनीचाँदे गाउँपालिकाल सदरमुकाममै सम्पर्क कार्यालय राखेका छन्। सेवाग्राहीहरू सामान्य कामका लागि पनि सदरमुकाम धाउन बाध्य छन्।

अन्य तीन नगरपालिका र शिवालय गाउँपालिकाले केन्द्रबाटै सेवा प्रवाह गरिरहेको भएपनि पूर्वाधार अभावमा सेवा प्रभावकारी हुन सकेको छैन।

नागरिकहरू सिंहदरबारको अधिकार सदरमुकामै अड्केको गुनासो गर्छन् भने जनप्रतिनिधिहरू भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण गाउँबाटै सेवाप्रवाह गर्न नसकेको दाबी गर्छन्। यातायात, सञ्चार र बिजुली यहाँका सबै स्थानीय तहको समस्या हो।

जुनीचाँदे गाँउपालिका र छेडागाड नगरपालिकाले अहिलेसम्म केन्द्र टुङ्गो लगाउन सकेका छैनन्। दुई वर्षदेखि जनप्रतिनिधिहरू केन्द्र विवादमै अल्झिएका छन्। जुनीचाँदेमा लुहादह, पराले र सानाखोला मध्य केन्द्र कहाँ राख्ने भन्नेमा जनप्रतिनिधिबीच कुरा नमिल्दा उक्त मुद्दा सर्वोच्च अदालत पुगेको छ। जसका कारण कर्मचारी गाउँ गएर काम गर्न पाएका छैनन्।

छेडागाड नगरपालिकाले पनि केन्द्र कहाँ बनाउने निर्णय गर्न सकेको छैन। चिलखाया, चंखिला र मनघाट मध्य कहाँ केन्द्र बनाउने टुङ्गो नलाग्दा पूर्वाधार खडा हुन सकेको छैन।

जनप्रतिनिधिले कामकाज छिटो छरितो गर्लान्, विकास निर्माणले गति लेला भन्ने आशमा रहेका कुशे ४ का हरिबहादुर खड्का जनप्रतिनिधि आफैं रनभुल्लमा परेको बताउँछन्। ‘कसरी कामको गति बढाउने भन्ने योजना नहुँदा उनीहरूको काम निराशाजनक देखिएको छ। मतदाताको अपेक्षा अनुसार जनप्रतिनिधिले काम गर्न सकेनन्’, उनले भने, ‘पहिलेजस्तै सामान्य कामका लागि सदरमुकाम धाउने हो भने कसरी आयो त गाउँमा सिंहदरबार रु’

कर्मचारी अभावमा दुई वटा वडा सचिवले ९ वटा वडाको काम गराउनु परेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। ‘दुई ओटा वडा सचिवले सवै वडाको काम आलोपालो गरेर गर्ने गरेका छन्’, उनले भने, ‘कर्मचारी र पूर्वाधार अभावमा काम गर्न साह्रै गाह्रो भयो।’

बारेकोटमा तीन जना सचिवले ९ वटा वडा र जुनीचाँदेमा तीन सचिवले ११ वटा वडाको काम गरिरहेका छन्। वडा सचिव नहुँदा जन्म, मृत्यु, विवाह, बसाईसराई जस्ता पञ्जीकरणका काम प्रभावित भएको छ।

जन्म दर्ताका लागि पनि सचिव खोज्दै सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेको कुशे १ का मानबहादुर नेपालीले बताए। वडा सचिव मात्र होइन, गाउँ तथा नगरपालिकाभित्र आवश्यक पर्ने प्राविधिक र अन्य कर्मचारीको ब्यवस्थापन नहुँदा विकास निर्माणका काम समेत प्रभावकारी हुन सकेका छैनन्।

कुशे र बारेकोटले यसै आर्थिक वर्षदेखि गाउँपालिकाबाटै सेवा सुचारु गर्ने बताउँछन्। ‘बैक नहुँदा सदरमुकामबाटै काम चलायौँ। अब बैंक पनि स्थापना भयो केही समयमै गाउँबाटै सेवा प्रवाह गर्ने तयारीमा छौँ’, बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले भने। अन्नपुर्ण पोष्ट्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार