धवलागिरीमा विद्यार्थीको स्वास्थ्य परिक्षण सुरु

म्याग्दी आईतबार माघ २० गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतबारदेखि विद्यालयमै पुगेर बालबालिकाहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ ।

गाउँपालिकाले वडा कार्यालय, स्वास्थ्य र शिक्षा शाखाका साथै गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा सबै विद्यालयका बालबालिकाको स्वास्थ्य परिक्षण सुरु गरेको हो ।

सात वटै वडामा परिचालन भएका स्वास्थ्यकर्मीहरुले २८ वटा विद्यालयमा पुगेर बालबालिकाको स्वास्थ्य परिक्षण गर्ने गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

विद्यार्थीहरुको स्वास्थ्य समस्या पहिचान, थप उपचारको व्यवस्था र स्वास्थ्य तथा सरसफाईप्रती सचेत बनाउने उद्देश्यले स्वाथ्य परिक्षण गर्न लागिएको अध्यक्ष थमसरा पुनले बताउनुभयो । तीन दिनसम्म अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य परिक्षण अभियानमा सम्बन्धित वडाका जनप्रतिनिधिहरुले सहजिकरण र समन्वयको भूमिका निर्वाह गरेका छन् ।

१० वटा मावि, १–५ तहको पठनपाठन हुने १२ र १–८ तहको पठनपाठन हुने ६ वटा विद्यालयमा सम्बन्धीत वडा भन्दा बाहिरका स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य परिक्षण गर्न लागिएको छ । एक हजार ९१० जना छात्रा र एक हजार ७९१ जना छात्र गरी तीन हजार ७०१ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य छ ।

वर्षको दुई पटक विद्यार्थीको स्वास्थ्य परिक्षण गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार आवश्यक बजेटको व्यवस्थापन गरेर कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी र मराङका १९ वटा सामुदायिक विद्यालयमा सामुदायिक विकास परियोजना लागू भएको छ । गरिब, विपन्न समुदायका विद्यार्थीहरुको शिक्षामा पहुँच वढाउने र निरन्तरता दिने वातावरण बनाउने तथा शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले यस वर्षदेखि मल्कवाङ र ताकममा परियोजना विस्तार गरेको छ ।
स्वास्थ्य परिक्षणका क्रममा देखिएका समस्याहरुको बारेमा जानकारी गराएर परामर्श दिने, जटिल किसीमका बिरामीहरुको लागि थप उपचारको व्यवस्था मिलाइने भएको छ । विद्यार्थी स्वस्थ भएमा शैक्षिक विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

दुर्गम खाम्लामा सडक पुग्यो

म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…

thumbnail

धवलागिरी गाउँपालिकामा आइतबार बिदा नहुने

बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…