जनप्रतिनिधिको दबाबमा सरुवा भएका प्रजिअ सुनारलाई स्थानीयद्धारा बाजागाजासहित बिदाइ

बझाङ,सोमबार भदौ १६ गते । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको स्थानीय बासिन्दाले फूलमाला, बाजागाजासहित बजार परिक्रमा गराइ भव्यरुपमा बिदाइ गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बझाङबाट मोरङ जिल्लामा सरुवा भएर जानुभएका प्रमुख जिल्ला अधिकारी सुनारलाई सर्वसाधरणले बाजागाजासहित सदरमुकाम चैनपुर परिक्रमा गराउँदै बिदाइ गरेका हुन् । बझाङ जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलाई बाजागाजासहित फूलमालाले बिदाइ गरिएको यो पहिलो घटना हो ।

गएको फागुन महिनामा बझाङ पुग्नुभएका सुनारले राजनीतिक प्रभावभन्दा पनि नागरिकको हकहितमा काम गरेको कारण आफूहरुले सुनारलाई फूलमालासहित बिदाइ गरेको सदरमुकाम चैनपुरका दिवसचन्द स्नेहीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसभन्दा अघि धेरै प्रमुख जिल्ला अधिकारीहरु आए पनि उहाँहरुले भन्दा सुनारले गरेका हरेक कामहरु बेग्लै छन् । नागरिकता दिनु मात्रै ठूलो कुरा होइन, सुनारले जिल्लाको लागि गरेका धेरै राम्रो अन्य कामहरु पनि छन् । जथाभावी काटिने सडकलाई समेत उहाँले रोक्नुभएको छ । यो नै बझाङ जिल्लाका स्थानीयहरुका लागी खुशीको कुरा हो ।’

साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले सीडीओ सुनारले गाउँगाउँमा पुगेर बुढापाकाहरुलाई नागरिकता वितरण गरेको बताउनु भयो ।

फागुन महिनामा बझाङ पुगेका प्रमख जिल्ला अधिकारी सुरेश सुनार नेपालभरिकै कान्छा सीडीओ पनि हुनुहुन्छ ।

सिडीओको सरुवाको कारण बन्यो सडक

प्रमुख जिल्ला अधिकारी सुनारको सरुवाको मुख्य कारक भने सडक हो । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले डोजर नियमनको लागि अग्रसरता लिएपछि यहाँका जनप्रतिनिधि रुष्ट भएका थिए । सिडिओप्रति रुष्ट भएका जनप्रतिनिधिहरु उहाँको सरुवाको माग गर्दै डेलिगेशनसहित दिनहुँजसो गृह मन्त्रालय धाउन थालेपछि उहाँको सरुवा भएको बताइएको छ ।

विसं २०७५ फागुन १७ गते बझाङको प्रमुख जिल्ला अधिकारीे भएर आउनु भएका सुनारले विसं २०७६ जेठबाट डोजर नियमनको प्रयास गर्नुभएको थियो । बिना कुनै सर्भे र डिजाइन जथाभावी डोजर सञ्चालन गरी बनाइएका सडकका कारण जिल्लाका थुप्रै गाउँ जोखिममा परेको, धेरै मानिसको जीउ–धनको जोखिम बढेको र महिनैपिच्छे सडक दुर्घटना हुन थालेपछि सीडीओ सुनारको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयले डोजर नियन्त्रणको प्रयास थालेको थियो ।

यसरी हचुवाका भरमा सडक निर्माण गर्ने कामलाई तत्काल रोक्न कार्यालयले पत्रकार गरेको थियो । तर बेवास्ता गर्दै चलाइएका डोजर नियन्त्रणमा लिन थालेपछि जनप्रतिनिधिहरु झस्किएका थिए ।

नेपाल सरकारले विसं २०७५ फागुन १ गतेबाट लागू हुनेगरी एक करोड रुपैयाँभन्दा कमका आयोजनामा डोजर प्रयोग नगर्न दिएको निर्देशन समेत अवज्ञा गरिएको गुनासो आएपछि प्रशासनले कारबाही गर्ने भनेर पत्राचार गरेको थियो । त्यसपछि जनप्रतिनिधि र प्रशासनबीच द्वन्द्व बढेको थियो ।

सीडीओको सरुवा माग गर्दै मन्त्रालय धाउने जनप्रतिनिधिहरुले भने आफूहरुसँग समन्वय नै नगरी काम गर्ने गरेको, नागरिकता दिनसमेत अप्ठ्यारो पार्ने गरेकोजस्ता आरोप सुनारमाथि लगाएका थिए ।

तर सर्वसाधारणले भने सुनारको खुलेरै प्रशंसा गरेका छन् । सांसद आशाकुमारी विकले पनि सुनारले बझाङमा बस्दा राम्रो काम गरेको बताउनु भयो । बिना सर्वेक्षण डोजर चलाएर जिल्ला ध्वस्त पारेको कुरा आफूले पटक–पटक संसदमा उठाएको र सीडीओले गरेको प्रयास प्रशंसनीय भएको उहाँले भन्नुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका जिल्लास्तरीय नेता नरेन्द्रबहादुर खड्काले पनि पछिल्लो समय सीडीओ सुनारले राम्रो काम गरेको र राम्रो काम गर्नेलाई सरुवा गर्नु दुर्भाग्यपूर्ण भएको बताउनु भयो । अब आउने सीडीओले पनि यही क्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।

यता प्रमुख जिल्ला अधिकारी सुनारले पनि बझाङबाट धेरै कुराको पाठ सिकेको र आगामी दिनमा अझ राम्रो काम गर्ने बताउनुभयो ।

बझाङमा आफूहरुले चाहेको जस्तो काम नगर्दा सीडीओलाई जनप्रतिनिधिहरु मिलेर सरुवा गराउने अभ्यास छ । सर्वसाधारणले पनि सीडीओको सरुवालाई लिएर सामाजिक सञ्जालमा जनप्रतिनिधिहरुको चर्को आलोचना छन् । उज्यालो अनलाइन

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…