बेनी नगरपालिकाको बजेट साढे ५८ करोड

बेनी ,बुधबार असार १० गते ।
म्याग्दीको बेनी नगरपालिकाले बुधबार निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बुधबार बेनीमा सम्पन्न सातौं नगरसभा मार्फत आगमी आर्थिक बर्ष २०७७÷०७८ का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गनुभएको थियो । भने उपमेयर सन्जु बरुवालले बजेट प्रस्तुुत गर्नुभएको थियो ।

मेयर श्रेष्ठले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण,कृषि ,पर्यटन तथा पुर्वधार निर्माणलाई प्राथमिकता दिइएको छ । श्रेष्ठले आगमी आवका लागि आर्थिक, सामाजिक, वातावरण र विपद् व्यवस्थापन, पूर्वाधार, सुशासन, सेवा प्रवाह, अनुगमन एवं मूल्याङ्कनसम्बन्धी वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

उपमेयर बरुवालले नगरसभामा कुल ५८ करोड ५५ लाख ४३ हजार दुईसय ६४ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गर्नुभएको छ । नगरपालिकाले चालुतर्फ ३६ करोड ६१ लाख विनियोजन गरेको छ भने पुँजीगततर्फ १९ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

समपुरक कोष दुई करोड ५४ लाख ४३ हजार दुईसय ६४ रुपैयाँ रहेको छ । प्रस्तुत बजेटमध्ये पूर्वाधार विकासतर्फ पाँच करोड १५ लाख, सामाजिकतर्फ एक करोड ८६ लाख, आर्थिकतर्फ एक करोड २५ लाख, वन तथा विपद् व्यवस्थापनमा ९० लाख र सुशासन तथा संस्थागत विकासमा ३७ लाख रुपैयाँ रहेको उपप्रमुख बरुवालले जानकारी दिनुभयो ।

यसैगरी बेनपाको १, ४, ६ र १० नम्बर वडालाई प्रतिवडा ५५ लाखका दरले तथा २, ३, ५ र ९ नम्बर वडालाई ६० लाखका दरले र ७ तथा ८ नम्बर वडालाई ५० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । नगरसभाले आन्तरिक आयतर्फ चार करोड तीनलाख २५ हजार रुपैयाँ सङ्कलन गर्ने प्रस्ताव गरेको छ । यसमध्ये सम्पत्ति, व्यवसाय दर्ता, घर तथा जग्गा बहाल, सवारीसाधन, विज्ञापन, मनोरञ्जनसहित अन्य करबाट गरी एक करोड ७६ लाख २५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

नीति तथा कार्यक्रममार्फत नगरपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्मको सडकलाई प्राथमिकतामा राखी बाह्रै महिना सञ्चालन हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । नदी, खोला, ताल तथा जलाधारको संरक्षण गरी पर्यावरणीय सन्तुलन कायम गरिनेछ भने नगर क्षेत्रमा कृषि क्षेत्रको आधुनिकीकरण र विविधिकरण गर्दै व्यावसायिकरणलाई जोड दिइने नीति कार्यक्रममा सम्बोधन गरिएको छ । त्यसैगरी ‘एक वडा, एक युवा क्लब, एक खेलमैदान’ कार्यक्रममार्फत युवा तथा बालबालिकाहरुको क्षमता विकास गरिने भएको छ ।

बुधबार प्रस्तुत बजेट, नीति तथा कार्यक्रममाथि आगमी असार १८ गते नगरसभामा छलफल गरी पारित गर्ने कार्यक्रम रहेको बेनी नगरपालिकाले जनाएको छ । सातौं नगरसभाको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार