मंगला ४ को न्युखोला महेश सडक निर्माणमा स्थानीयबासीको सहयोग

बेनी । म्याग्दीको मंगला गाउँपालीका –४ बरंजाको महेश देखि न्युखोला जोड्ने मोटरबाटो निर्माण कार्यका लागि स्थानीयबासीबाट ४ लाख ५० हजार बढि आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका– ४ हाल पोखरा निवासी रुकमन्ड चोचाङ्गीले १ लाख ३ हजार ३ सय तेत्तीस रुपैयाँ , मंगला गाउँपालिका–४ हाल युके निबासी अमर बहादुर पुर्जाले १ लाख १ सय एघार रुपैयाँ , मंगला ४ हाल पोखरा निबासी भुमिकला चोचाङ्गीले १ लाख रुपैयाँ , पोखरा निबासी जग बहादुर चोचाङ्गीले ५० हजार र जापान निबासी रोशन चोचाङ्गीले १० हजार सहयोग गरेका न्युखोला महेश मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष उमेश बिश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार दह, न्युखोला, महेश, धापुङ्ग हुँदै ताराखोला गाउँपालीकाको सिमाना सिर्फु देउराली सडक निर्माण योजनाका लागि आर्थिक बर्ष २०७६÷०७७ मा संघिय सांसद भुपेन्द्र थापाको पहलमा सांसद बिकास कोषबाट १५ लाख रुपैयाँ प्राप्त भएको थियो । त्यसैगरी ४ नं वडा कार्यालयबाट बिनियोजन भएको ३ लाख रुपैयाँ समेतको रकमले खनेको बाटो एक्लेच्यान भिर सम्म आइपुगेको छ । रकम अभाबका कारणले बाटो निर्माण कार्य बिचमै रोकिदा स्थानीयलाइ आवत जावत गर्न समेत जोखिम रहेकोले जनस्तरबाट सहयोग संकलन गरि उक्त जोखिम क्षेत्रमा बाटो खन्न लागिएको अध्यक्ष बिश्वकर्माले बताउनुभयो ।

२०६७ सालमा दह, न्युखोला हुँदै धापुङ सम्म सडक खनिएको थियो । त्यसपछि स्थानीयले १२ लाख रुपैयाँ संकलन गरि धापुङ्ग देखि महेश सम्म सडक पु¥याएका थिए । तर ४० घरधुरीको बसोबास रहेको महेशबासीलाइ उक्त सडक घुमाउरो भएपछि न्युखोला देखि सिधै महेश सम्मको नयाँ ट्रयाक खोल्न थालिएको अध्यक्ष बिश्वकर्माले बताउनुभयो । उहाँका अनुसार न्युखोला देखि महेश सम्मको ९ सय मिटर मध्य करिव ६ सय मिटर बाटो खनि सकिएको छ । बाकीँ ३ सय मिटरमा भिर पहरा रहेकाले समय र बजेट पनि धेरै खर्च हुने देखिएको छ ।

महेश गाउँलाइ सुन्तला पकेट क्षेत्रको रुपमा बिकास गर्न सकिने सम्भावना रहेकोले गत आबमा त्यहाँका स्थानीयले भकिम्लीको राखुबाट ब्यक्तिगत रुपमा करिव ४ हजार सुन्तलाका बिरुवा खरिद गरि सुन्तला खेती बिस्तार गरेका छन । सुन्तला उत्पादन पछि निर्यातका हिसाबले पनि यो सडक महत्वपुर्ण हुने र स्थानीयले थप सुबिधा लिन सक्ने उपभोक्ता समितिका सदस्य गोबिन पुनले बताउनु भयो ।
दह, न्युखोला, महेश, धापुङ्ग हुँदै सिर्फु देउराली अर्गल जोड्ने मोटरबाटो निर्माणका लागि आब २०७७÷०७८ मा प्रदेश सरकारबाट शसर्त अनुदान शिर्षक अन्तर्गत ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको मंगला गाउँपालीकाका अध्यक्ष सत प्रसाद रोकाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार