बाढी पहिरो पीडितलाई मगर संघको राहत सहयोग

म्याग्दी । म्याग्दीको मंगला ,मालिका र धवलागिरी गाउँपालिकाका विभिन्न ठाउँमा अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडित परिवारलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो राहत बाढी पहिरोमा ज्यान गुमाएका ,बेपत्ता र पुर्ण क्षति ब्यहोरेका पीडित परिवारलाई वितरण गरिएको हो ।

बाढी पहिरोका कारण पुर्ण क्षति भई विस्थापित भएका मंगला गाउँपालिकाका १८ परिवारलाई राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका मगरको उपस्थितीमा विस्थापित परिवारलाई प्रति ५ हजारका दरले ९० हजार रुपैयाँ वितरण गरिएको छ ।

मालिका गाउँपालिकाका बाढी पहिरोमा ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई वडा नम्बर ७ का वडा सदस्य बुद्धी बहादुर जुग्जालीको उपस्थितीमा पीडित परिवारलाई ७५ हजार रुपैयाँ वितरण गरिएको मगर संघ म्याग्दीले जनाएको छ । बेपत्ता र मृतकका आफन्तलाई प्रति परिवार दश हजार रुपैयाँका दरले वितरण गरिएको छ । मालिकामा बाढी पहिरोमा परेर ८ जनाको ज्यान गएको थियो भने अझै दुई जना बेपत्ता छन् ।

यसैगरी, धवलागिरी गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोमा परेर ज्यान गुमाएका र बेपत्ता भएकाका आफन्तलाई प्रति परिवार दश हजार रुपैयाँका दरले वितरण गरिएको थियो । एक जनालाई दश हजार र सो भन्दा बढी आफन्त गुमाएकाको परिवारलाई पाँच / पाँच हजार रुपैयाँ थप बितरण गरिएको छ । सो राहत वडा नम्बर ६ का वडा अध्यक्ष राजाराम सुवेदीको उपस्थितीमा पीडित परिवारलाई वितरण गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका मगर ,वडा अध्यक्ष सुवेदी र वडा सदस्य जुग्जालीले राहत सहयोग प्रति धन्यवाद तथा आभार व्यक्त गरे । उनिहरुले बाढी पहिरोबाट अकल्पनिय क्षति ब्यहोरेको बताए । पुर्नवासका लागि गाउँपालिकाले प्रदेश र संघिय सरकारलाई जानकारी गराइएको गाउँपालिका अध्यक्ष रोका मगर र वडा अध्यक्ष सुवेदीले बताए । राहत वितरणमा मगर संघ म्याग्दीका निवर्तमान अध्यक्ष थजालीले बाढी पहिरोबाट पीडित भएकाहरुलाई राहत पुगोस भन्ने उदेश्यले बेलायत र हङकङ मगरसंघ मार्फत प्राप्त सहयोग संगै जिल्ला शाखाको अगुवाईमा जिल्लामा समेत थप सहयोग संकलन गरेर वितरण गरिएको बताउनुभयो ।

मगर संघ म्याग्दीका निवर्तमान अध्यक्ष मनप्रसाद थजाली र उपाध्यक्ष लोक बहादुर पुन ‘लोकेश’ले पीडित परिवारलाई सो राहत वितरण गर्नुभएको थियो । जिल्ला सदस्य रमेश फगामीले पीडित परिवारलाई सो राहत वितरण गर्नुभएको थियो । जिल्ला सचिव खम बहादुर थापा मगर र सहसचिव हिरा बहादुर पुनले संचालन गर्नुभएको कार्यक्रममा कार्यक्रममा जिल्ला सचिवालय सदस्य रमेश फगामी ,मिलन रोका मगर ,मगर संघ ,मंगला गाउँपालिका इकाई अध्यक्ष टेक बहादुर पुर्जा पुर्जा र उपाध्यक्ष जयन्ती पुन लगायतको उपस्थिती रहेको थियो । जिल्ला भर बाढी पहिरो पीडित परिवारलाई पाँच लाख रुपैयाँँ बढी राहत वितरण गरिने मगर संघ म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिका वडा नम्बर २ भकिम्लीका बाढी पहिरो पीडित परिवारलाई बीस हजा रुपैयाँको राहत वितरण गरिने छ । यसैगरी रघुगंगा गाउँपालिकाका पीडित परिवारलाई ८५ हजार रुपैयाँ वितरण गरिने जिल्ला सचिव थापा मगरले बताउनुभयो । यस अघि अन्नपुर्णका बाढी पहिरो पीडितलाई ८२ हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार