५० प्रतिशत साना मझौला उद्योग बन्द हुने अवस्थामा

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले कोभिडका कारण ५० प्रतिशत लघु, साना तथा मझौला उद्योगहरू बन्द हुने अवस्थामा पुगेको जनााएको छ । गत मे २५ देखि १० जुनसम्मको अवधिमा जापान सरकारको सहयोगमा आईएफसीले गरेको अध्ययनले कोभिडको बढ्दो जोखिमले अहिलेको अवस्थामा धेरै साना तथा मझौला उद्योग बन्द हुने देखाएको हो । प्रतिवेदनमा यस्ता उद्योगहरूले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदन दिएको तथा १७ लाख ५० हजारलाई रोजगारी दिएको जनाइएको छ । कोभिडका कारण यसमा ठूलो गिरावट आउने प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा ९ लाख २३ हजार ३ सय ५६ फार्म रहेको र त्यसमध्ये आधामात्र दर्ता रहेको उल्लेख गर्दै बुधबार सार्वजनिक कोभिड–१९ नेपाल बिजनेस पल्स सर्भेमा ५ सय ४१ फर्मको नमूना रूपमा अध्ययन गरेको उल्लेख छ । सर्भे गरिएका कम्पनीहरूमा ८३ प्रतिशत पुरुष र १७ प्रतिशत महिलाले नेतृत्व गरेका कम्पनी छन् । अध्ययनले ४६ प्रतिशत अस्थायी रूपमा बन्द, ३५ प्रतिशत आंशीक खुल्ला र १३ प्रतिशतमात्र पूर्ण खुला रहेको उल्लेख छ । त्यसैगरी ८३ प्रतिशत फर्मको व्यापार घटेको र ४ प्रतिशतको मात्र बढेको उल्लेख गर्दै प्रतिवेदनमा माइक्रो, स्मल र मिडियम उद्योगमा काम गर्ने समय, नगद प्रवाह, माग तथा वित्तीय उपलब्धताजस्ता कारणले घटेको उल्लेख गरिएको छ । प्रतिवेदनमा ८० प्रतिशतभन्दा बढी व्यवसायहरूमा बिक्रीको गिरावटबाट ग्रस्त भएको, उनीहरूले विनातलब वा विदाको बिदा वा आफ्नो कर्मचारीहरूको घण्टा वा ज्याला घटाउने जस्ता उपायहरू गरेको उल्लेख छ ।

प्रतिवेदनमा कोभिडको महामारीले परम्परागत बिक्रीलाई छाडेर साना तथा मझौला उद्योगहरूले इन्टरनेट, सोसियल मिडिया वा डिजिटल प्लेटफर्मको प्रयोग बढेको र व्यापारका लागि उपयोग गरिरहेको उल्लेख छ । आईएफसीको सल्लाहकार सेवाहरूका लागि दक्षिण एसियाका प्रबन्धक रोल्फ बहरन्टले कोभिडको कारणले साना व्यवसायहरूले गम्भीर समस्या भोगिरहेको प्रतिवेदनले देखाएको उल्लेख गर्दै साना व्यवसायहरूले अर्थतन्त्रमा मुख्य भूमिका खेलेको र यसको कारण नेपालको व्यापार वृद्धि, रोजगारी सिर्जना र राजस्वमा समेत योगदान दिइरहेको बताए । प्रतिवेदनले अध्ययन गरेका व्यवसायहरूमा २५ प्रतिशत कर्मचारीलाई बिदा दिएको, २७ प्रतिशतले कार्य समय घटाएको तथा १२ प्रतिशत कम तलबमा राखिएको उल्लेख छ ।

आईएफसी नेपाल, बंगलादेश र भुटानका देशीय प्रबन्धक वेन्टी वर्नरले महामारीले नेपालको अर्थतन्त्रमा ठूलो चोट पु¥याएको बताउँदै गत वर्षको तुलनामा साना तथा मझौला उद्योगहरूको व्यापार ८३ प्रतिशतले घटेकोले अहिलेको निष्कर्षले आगामी दिनमा व्यवसाय पुनरुत्थानमा सहयोग पुग्ने बताइन् । विश्व बैंक माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फारिस हदादले सर्भेक्षणको परिणामले आर्थिक सुधारमा योगदान पु¥याउन सक्ने क्षमताको सुधारका लागि महत्वपूर्ण सहयोग गर्ने बताउँदै यस्तो अवस्थाको अन्त्यका लागि विश्व सबैकले सरकार र निजी क्षेत्रसँग मिलेर कृषि, पर्यटन र वित्तीय क्षेत्र लगायतका लघु, साना तथा मझौला उद्योगहहरूलाई सहयोग सहायताका लागि परियोजनाहरू तयार पारेको जानकारी दिए । प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा आईएफसीले लघु, साना तथा मझौला उद्योगहरूका लागि हालै एनएमबि बैंकमार्फत २५ मिलियन डलर सहायता गरेको पनि जानकारी दिइएको थियो । karobardailyबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार