धनगढी प्रहरी हत्या प्रकरण:हत्यामा संलग्न थप १ जना पक्राउ

कैलाली । गत शनिवार राति धनगढीमा नेपाल प्रहरीका एक जना असई र प्रहरी जवान हत्या प्रकरणमा थप १ जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको भन्दै वर्ष २० का रोहित रानालाई आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटी लाई जानकारी दिए ।

उनले प्रारम्भिक जानकारी अनुसार १० जनाको समुह हत्यामा संलग्न भएको सूचना रहेको र फरार रहेकालाई खोजी कार्य भइरहेको जानकारी दिए । कैलाली प्रहरीले मंगलबार हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको गरिसकेको छ । धनगढी उपमहानगरपालिका–१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

हत्यामा संलग्नमा धनगढी उपमहानगरपालिका १० बस्ने ३१ वर्षीय रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ का २५ वर्षीय रामगोपाल राना रहेको कैलाली प्रहरी प्रमुख एसपी दिलिपसिंह देउवाले बताए ।

ड्युटीका क्रममा दशगजा क्षेत्र पुगेका बेला विकलाई अज्ञात समूहले दशगजामै घाँटी रेटेर हत्या गरको थियो । बिकको शव आइतबार बिहान मोहना नदीमा फेला परेको थियो भने घटनापश्चात् बिकसँगै रहेका प्रहरी जवान साउदको शव मोहना नदीको किनारमा गाडिएको अवस्थामा मङ्गलबार फेला परेको थियो ।


तस्करहरूले हत्या गरी मोहना नदी किनारमा गाडेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनामा संग्लन रहेका एक जनाले प्रहरीलाई साउदको हत्या गरी नदीको बीच भागमा गाडेको बयान दिएपछि शव फेला परेको थियो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनाले जवानको शव नदीको बीचभागमा गाडेको बयान दिएका थिए, सोही व्यक्तिलाई घटनास्थलमा ल्याएर खोज्न लगाएपछि शव भेटिएको थियो ।

शनिबार राति नेपालबाट भारततर्फ केराउ लगायतका सामान तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । घटनामा भारतीय तस्करहरूको पनि संलग्नता रहेको खुल्न आएको छ । प्रहरी अधिकारीले भने, ‘उताका तस्करले नदीसम्म मोबाइल पु¥याइदिएको घटना हेर्दा भारतीय तस्कारहरूको पनि संलग्नता देखियो ।’ प्रहरीले दाल ओसारपसार गर्न प्रयोग गरिएको गोरुगाडासमेत स्थानीय बलराम रानाको घरबाट बरामद गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले १६ जनाभन्दा बढीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । हत्यामा संलग्न मुख्य नाइके सहित केही व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

भारतसँग जोडिएको उक्त नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ हो । घटनास्थलमा साउदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो। विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो । सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका प्रहरी तस्करकै शिकार बनेका हुन् । घटना अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोबाट आएको टोली पनि आइतबारबाटै यहाँ खटिएको छ । रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा राखेको छ । अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…