बहराइनका राजकुमारले मनास्लु हिमालको सफल आरोहण गरे

काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । ८,१६३ मिटर अग्लो मनासलु हिमाल आज बिहान ६ बजेर १० मिनेटमा सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्वा शेर्पाले जानकारी दिए । उनीसंगै बहराइनका शाही परिबार, सुरक्षा टोली र गाइड, शेर्पागरी ५० जनाभन्दा धेरैले जनाले मनास्लु हिमाल आरोहण गरेका छन ।

टिमको नेतृत्व विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका दक्षिण एशियाका पहिलो आरोही मिङ्मा शेर्पा र १४ वटै हिमाल आरोहण गरेका छाङ दावा शेर्पा र अक्सिजनबिना सगरमाथा चढ्ने सबैभन्दा कान्छा आरोही टासी लाक्पा शेर्पाले गरिरहेका थिए् । सो टिममा २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामी रिता शेर्पा गाइडको भूमिकामा थिए ।

राजकुमारको टोली गत असोज २० गते मनास्लु आरोहणका लागि गोरखाको सामागाउँ पुगेका थिए । राजकुमार सेख मोहम्मदको आरोहणको बन्दोबस्त सेभेन सम्मीट ट्रेक्स प्रालिले मिलाएको थियो । सामागाउँ पुगेका राजकुमार सेख मोहम्मदसहितको टोलीलाई वडाका जनप्रतिनिधि, स्थानीय आमा समूह, सांस्कृतिक समूह, गौरीशंकर आधारभूत विद्यालय लगायतका टोलीले बाजागाजासहित स्वागत गरेका थिए । त्यस अवसरमा स्थानीय भेषभुषा (छुवा) लगाएर उनलाई सजाएका थिए ।

बहराइनका शाही परिवारको पहिलो भ्रमणका अवसरमा सामागाउँका बासिन्दाले पाँच हजार मिटर भन्दा अग्लो हुसुरडाँडालाई रोयल बहराइन पिक भनेर नामाकरण गरेका थिए ।पहिलो पटक नेपाल आएको र अब नेपाल र बहराइनबीचको सम्बन्ध भविष्यमा धेरै राम्रो हुने विश्वास पनि राजकुमारले व्यक्त गरेको वडाअध्यक्ष वीरबहादुर लामाले बताए । सामागाउँलाई सँधै सुख, दुखमा साथ र सहयोग गर्ने प्रतिवद्धता पनि राजकुमारले व्यक्त गरेका लामाले बताए ।

ट्रेकिङ कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाले सामागाउँ र ल्होका बासिन्दामा कोभिड १९ बाट कुनै समस्या भए निशुल्क रुपमा अस्पताल पु¥याउन हेलिकोप्टर सेवा दिने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसअघि राजकुमारको टोलीले असोज १७ गते सोलुखुम्बु जिल्लाको ६,११९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार