भारत र चीन दुबैको भोट पाएर राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल पुन:निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा पुन: निर्वाचित भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार न्युयोर्कमा भएको मतदानमा नेपाल १५० मत ल्याएर परिषद सदस्यमा फेरि निर्वाचित भएको हो। हाम्रा दुबै छिमेकी चीन र भारतसहित १५० देशको मतले नेपाल परिषद् सदस्यमा फेरि निर्वाचित भएको छ, परराष्ट्र सचिव भरतराज पौडेलले सेतोपाटीसँग भने। यसअघि भारतलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को अस्थायी सदस्य बनाउन नेपालले पनि पक्षमा मतदान गरेको थियो।

नेपालसँगै एसिया प्यासेफिक क्षेत्रबाट चीन र उज्वेकस्तान पनि परिषद सदस्य चुनिएका छन्। परिषदमा विभिन्न क्षेत्रबाट ४७ मुलुक सदस्य हुन्छन्। तीमध्ये यसपालि १५ मुलुक नयाँ निर्वाचित भएका हुन्। नेपाल सन् २०१८ पनि परिषद् सदस्य निर्वाचित भएको थियो। नेपालले अब सन् २०२३ सम्म परिषद् सदस्यका रूपमा काम गर्नेछ। नयाँ निर्वाचित हुने अन्य मुलुकहरूमा अफ्रिकाबाट कोटडिभ्वार, गावोन, मालावी र सेनेगल, पूर्वी युरोपबाट रूस र युक्रेन, दक्षिण अमेरिकाबाट बोलेभिया, क्युबा र मेक्सिको, पश्चिम युरोपबाट फ्रान्स र बेलायत छन्। एसिया प्यासेफिक क्षेत्रबाहेक अन्य मुलुकहरू भने सर्वसम्मत चुनिएका हुन्।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रमुख अमृतबहादुर राईले परिषद सदस्यमा नेपाल पुन:निर्वाचित हुनुले राजनीतिक र मानव अधिकारमा नेपालको प्रगतिशील यात्रालाई अन्तर्राष्ट्रिय समुदायले स्वीकारेको बताए। उनले यो नेपालले देशभित्र र शान्ति मिसनमार्फत् संसारका विभिन्न क्षेत्रमा गरेको मानव अधिकारको संरक्षण र संम्वर्द्धनको मूल्याकंन पनि भएको उल्लेख गरे। राईले परिषद् सदस्यको रूपमा फेरि काम गर्न सक्षम ठानेकोमा सदस्य राष्ट्रहरूलाई धन्यवादसमेत ज्ञापन गरे। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार