म्याग्दीका बाढी पहिरो पीडितका लागि मोना युकेद्धारा २३ लाख बढी संकलन

बेनी । म्याग्दीका बाढी पहिरो पीडितका लागि म्याग्दी समाज (मोना)युकेले २३ लाख रुपैयाँ बढी जुटाएको छ । अविरल बर्षातका कारण म्याग्दीमा म्याग्दीमा गएको बाढी पहिरोबाट पीडित परिवारका लागि सो रकम संकलन भएको मोना युकेले जनाएको छ ।

संकलित रकम मध्ये पुर्नवासका लागि मोना अन्तराष्ट्रियलाई सात लाख र जिल्लाका स्थानीय तह मार्फत पीडित परिवारलाई आर्थिक सहयोग गर्ने मोना युकेका महासचिव लाल बहादुर पुनले बताउनुभयो । उहाँका अनुसार बाढी पहिरो प्रभावित मालिका गाउँपालिकालाई २ लाख ५० हजार ,धवलागिरी गाउँपालिकालाई २ लाख ५० हजार ,मंगला गाउँपालिकालाई २ लाख तथा कम क्षति भएका रघुगंगा गाउँपालिका १ लाख ५० हजार ,अन्नपुर्ण गाउँपालिकालाई १ लाख ५० हजार र बेनी नगरपालिका वडा नम्बर ३ भकिम्लीका बाढी पहिरो पीडितका ५० हजार रुपैयाँ वितरण गर्ने निर्णय भएको महासचिव पुन मगरले जानकारी दिनुभयो ।

सो रकम स्थानीय तह मार्फत पीडित परिवारलाई क्षति र आवश्यकताका आधारमा राहत वितरण गर्ने अध्यक्ष दल जुग्जालीले बताउनुभयो । गत असार २५ र २६ गते परेको अविरल बर्षातका कारण गएको पहिरोमा परेर धवलागिगिरी गाउँपालिका वडा नम्बर ६ मराङको विभिन्न ठाउँमा १९ जनाको ज्यान गएको थियो भने दुई जना अझै बेपत्ता छन् । यसैगरी मालिका गाउँपालिका वडा नम्बर ७ बिममा ८ जनाको ज्यान गएको थियो भने एक जना अझै बेपत्ता छन् । सोही समयमा दुखुखोलामा आएको बाढीले बगाएर अझै एक जना बेपत्ता छन् ।

बाढी पहिरोको कारण म्याग्दीमा करडौंको भौतिक क्षति भएको छ भने करिब दुई सय परिवार विस्थापित भएका छन् । यसअघि मोना युकेले बाढी पहिरो पीडितलाई तत्काल तीन लाख रुपैयाँ बराबरको राहत वितरण गरेको कोषाध्यक्ष पदम गर्बुजाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन लाख रुपैयाँ मोना युकेको आपतकालिन कोषमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार