मुख्य समाचार राष्ट्रिय समाचार समाज

रानीपोखरीको उद्घाटन कार्त्तिक ५

काठमाडौं । पुनः निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कार्त्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनर्निर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुने छ । तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनर्निर्माण सम्पन्न छ । उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् ।

भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो । सुरुमा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पुनर्निर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनर्निर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनर्निर्माणको सुरुवात रानीपोखरीबाटै गरेकी थिइन् । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । राजाले आफ्ना छोरा चक्रवर्तेन्द्रकै सम्झनामा यो पोखरी बनाएका हुन् । सुरुमा पोखरीको निर्माण करिब पाँच वर्षभित्र अर्थात् नेपालसम्वत् ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७/इसं १६७०) मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।

रानीपोखरीसँगै ऐतिहासिक दरबार हाइस्कूल अर्थात् भानु माध्यमिक विद्यालयको पनि उद्घाटन गर्न राष्ट्र प्रमुखलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ । भानु मावि चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सनले लिएको थियो । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छ ।

विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा सो विद्यालय स्थापना गरिएको थियो । भूकम्पले पूर्णरुपमा क्षति र्‍याएको उक्त हाइस्कूलको पुनर्निर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो । रासस/nagarikkhabar

सम्बन्धित समाचार

thumbnail

मोबाइलबाट गलत सन्देश प्रवाह गरे प्राधिकरणले कारवाही गर्ने

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन…

thumbnail

रेडपाण्डाको छालासहित चार जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। दैलेखबाट बिक्रीका लागि ल्याइएका दुई वटा रेडपाण्डाको छाला (ओखेटोपहार)सहित दैलेखको नौमुले गाउँपालिका–२ का २६ वर्षीय मनोज विक,…

thumbnail

पछिल्लो २४ घण्टामा देशभर ५७४३ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको…

Write a Reply or Comment