राष्ट्रिय मगर संघद्धारा बुकेनीका पहिरो पीडितलाई आर्थिक सहयोग

बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ म्याग्दीले जिल्लाको मंगला गाउँपालिका–४,बरंजा स्थित बुकेनीका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । अविरल बर्षातका कारण घर तल गएको पहिरोबाट विस्थापित बुकेनीका दुर्गाबहादुर रोका मगरको परिवारलाई नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पहलमा संकलित ५० हजार रुपैयाँ पुर्नवासका लागि सहयोग गरिएको हो ।

राष्ट्रिय मगर संघ म्याग्दीको पहलमा नेपाली कांग्रेस म्याग्दीका पुर्व सहसभापति नेत्रबहादुर महत , जिल्ला सदस्य केबी भण्डारी ,मुकुन्द छन्त्याल ,ओम छन्त्याल,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष तथा सामाजिक अभियान्ता बिमला गौचन ,राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिराबहादुर पुन ,जिल्ला समन्वय समिति सदस्य रामदेबी पुन र खिमा पुर्जा लगायतबाट संकलित रकम आइतबार एक कार्यक्रमका विच पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय मगर संघ म्याग्दीको पहलमा आफु संगै विभिन्न ब्यक्तीहरुबाट संकलित रकम पीडित परिवारको पुर्नवासमा सघाउ पु¥याउने उद्धेश्यले आर्थिक सहयोग गरिएको अध्यक्ष पुन मगरले बताउनुभयो । साथै उहाँले सहयोगदाताहरुलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । सोही अवसरमा सडकका कारण खेतबारी गुमाउनुभएका अपाङ्गता समेत रहनुभएका खड्क बहादुर विकका परिवारलाई अध्यक्ष पुन र महिला संघ अध्यक्ष गौचनले संयुक्त रुपमा पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

कार्यक्रममा महिला संघ म्याग्दीकी अध्यक्ष तथा सामाजिक अभियान्ता गौचनले पीडित परिवारको पुर्नवास लगायत राहतमा सघाउ पु¥याउने उद्धेश्यले आफुहरुले सहयोग गरिएको बताउनुभयो । उहाँले जिल्लामा अविरल बर्षातका कारण आइपरेको प्राकृतिक विपत्तीबाट ठुलो मानविय तथा भौतिक क्षति भएको बताउनुभयो । प्राकृतिक विपत्तीका कारण जिल्लाले ठुलो क्षति ब्यहोरेपनी प्रदेश र संघिय सरकारले राहतमा म्याग्दीलाई वेवास्ता गरेको आरोप लगाउनुभयो । यसैगरी उहाँले विपद संकटग्रष्त जिल्लाकोे सुचिमा समावेश नगरेर म्याग्दीलाई संघिय सरकारले विभेद गरेको भन्दै आपत्ती जनाउनुभयो ।

नेपाली कांग्रेस वडा इकाई सभापति लालबहादुर रोका मगरको सभापतित्व तथा नेपाल तरुणदल वडा नम्बर ४ का अध्यक्ष होेम बहादुर बुढाथोकीको संचालनमा सम्पन्न कार्यक्रममा वडाका सल्लाहकार दलबहादुर रोका मगरले स्वागत मन्तव्य राख्नुभएको थियो । यसैगरी कार्यक्रममा नेपाली कांग्रेस कजिल्ला सदस्य मनकुमारी विश्वकर्मा ,नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश सदस्य समेत रहनुभएकी जिल्ला समन्वय समिति सदस्य पुर्जा र राष्ट्रिय मगर संघ म्याग्दीकी सदस्य देबी बुढाथोकी लगायतले बोल्नुभएको थियो ।

जिल्ला समन्वय समिति सदस्य रामदेबी पुन स्थानीय जनसेवा युवा क्लब अध्यक्ष ललिन्द्र थापा मगर ,सिद्ध आमा समुहकी अध्यक्ष यामदेबी रोका मगर लगायतको उपस्थिती रहेको थियो । यसैगरी सोही कार्यक्रममा नेकपा परित्याग गरेर बुकेनीमा ११ जना कांग्रेस प्रवेश गरेको जिल्ला सदस्य समेत रहनुभएका राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिरा बहादुर पुन मगरले बताउनुभयो । उहाँका अनुसार प्रवेश गरेकाहरुलाई नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष तथा महासमिति सदस्य गौचनले पार्टी सदस्यता पत्र वितरण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार