कोरोना संक्रमणबाट विदेशमा २९३ जना नेपालीको मृत्यु

काठमाडौं । विश्वका विभिन्न मुलुकमा कोरोनाभाइरसबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

कोरोना संक्रमण सुरु भएयता विदेशका १९ देशमा रहेका २ सय ९३ जना नेपालीको कोरोना संक्रमणका कारणले मृत्यु भएको पनि समितिले जनाएको छ । समितिका अनुसार कोरोना भाइरसका कारणले हाल सम्म सबै भन्दा बढी साउदी अबरमा ८४ जना र यस्तै युकेमा ६९ जना र भारतमा ४० जना नेपालीको मृत्यु भएको छ ।

भारतमा मृत्यु भएका ४० जना मध्ये १० जना महिला रहेका छन् । समितिका संयोजक डा सापकोटाका अनुसार यो साता स्पेन, युके, यस्तै युएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्बे पनि थपिएको छ ।

हालसम्म नेपालमा मात्र २ लाख १८ हजार ६ सय ३९ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने ती मध्ये १ लाख ९३ हजार ३ सय २५ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ दशमलव ४ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ३ सय ५ जनाको ज्यान गएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार