मालिकामा सोमबारदेखि विद्यालय खुल्ने

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा विद्यालय सोमबार देखि खुल्ने भएका छन् । गाउँपालिकाको कार्यालय दरबाङमा आइतबार बसेको कार्यपालिकाको बैठकले पालिकाभित्र कोरोना कारण बन्द भएका विद्यालय सुचारु गराउन पाउने निर्णय गरिएको हो ।

कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरू जनस्वास्थ्य प्रोटोकल पालना गर्दै विद्यार्थीलाई भौतिक रूपमै कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने गरी सोमबारदेखि पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय खुलाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो ।

‘संघीय सरकारले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा अनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी कोरोना कारण बन्द भएका पालिका भित्रका विद्यालय सुचारु गराउन पाउने गरी बैठकले निर्णय गरेको छ ,’–अध्यक्ष रोका मगरले भन्नुभयो ।

यसैगरी सोमबारदेखि प्रत्येक विद्यालयमा विद्यार्थीको स्वास्थ्य अवस्था बुझ्न शिक्षक मध्ये एक जनालाई स्वास्थ्य फोकल पर्सन तोक्ने र फोकल पर्सनले विद्यार्थीको स्वास्थ्य अवस्था एवम् विद्यालयको दैनिक गतिविधि बारे गाउँपालिकामा जानकारी गराउनुपर्ने गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो । यस अघि गाउँपालिकामा बैकल्पिक सिकाई सहजिकरण संचालन गरिएको थियो ।

यसअघि टोल र घुम्ति कक्षा संचालन गरिएको बैकल्पिक सिकाई सहजिकरणमा शिक्षक र विद्यार्थीलाई समस्या भएको गाउँपालिकाका शिक्षा अधिकृत रिजालको भनाई छ । अध्यक्ष रोका मगरको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकमा उपाध्यक्ष खरमाया विटालु ,वडा अध्यक्ष सहित सबै कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो । विद्यालयमा विहान दश बजेदेखि चार बजेसम्म पठनपाठन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार