पर्यटन मनोरञ्जन मुख्य समाचार राष्ट्रिय समाचार समाज

पाहुना घुमाउने ठाउँ बन्यो अम्ब्रेला स्ट्रिट

चितवन । जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको भिडभाड हुने गरेको छ ।

सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेपछि भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा गत वर्ष रु एक करोड ८६ लाख खर्च गरेर अम्रेला स्ट्रिटसहित पर्यटकीय पूर्वाधार बनाइएको थियो । वडाध्यक्ष विष्णु महतोका अनुसार शनिबार मात्र अम्रेला स्ट्रिट प्रवेशका लागि चार हजार ३ सय जनाले रु २० को टिकट काटेका छन् ।

गएको फागुन १ गतेदेखि सञ्चालनमा आएको अम्रेला स्ट्रिट १४ दिन सञ्चालनमा आएपछि कोरोना कहरका कारण बन्द गरिएको थियो । कात्तिक १४ गतेदेखि पुनःसञ्चालनमा आएको हो । यससँगै दैनिकरुपमा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ । महतोले भने, “आन्तरिक पर्यटकले हामीलाई उत्साहित बनाएको छ ।”

चितवन र आसपासका जिल्लामा बाहिरी जिल्लाबाट आएका पाहुनाको घुम्ने ठाउँ पटिहानी बनेको उनले बताए । यसबाहेक काठमाडौं, पोखरा, गोर्खा, विराटनगरलगायतका ठाउँबाट पनि आन्तरिक पर्यटक घुम्नका लागि यहाँ आउने गरेको महतोको भनाइ छ । अम्रेला स्ट्रिट र त्यहाँ रहेको कल्चरल क्यान्भासमा रमाउनेदेखि डुङ्गा शयर, हात्ती सफारी, जीप सफारी, थारु समुदायको खाना खाएर आन्तरिक पर्यटक रमाउने गरेको उनले जानकारी दिए ।

स्थानीय पत्रकार अपिल घिमिरेका अनुसार साँझमा सूर्यास्त र नजिकैबाट दुर्लभ एकसिङ्गे गैँडा नियाल्दै गर्दा आन्तरिक पर्यटक निकै रमाउने गर्दछन् । आन्तरिक पर्यटकको चहलपहलसँगै स्थानीय होटल, रेस्टुराँ व्यवसायी पनि लाभान्वित भएका छन् । पटिहानीमा मात्र आठ वटा ठूला होटल रहेका छन् भने १२ भन्दाबढी साना होटल रहेका छन् । आन्तरिक पर्यटक बढेसँगै रेस्टुराँ खुल्नेक्रम बढ्दो छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु एक करोड, भरतपुर महानगरपालिकाको रु ७१ लाख, वडा कार्यालयको रु १५ लाख संरचना निर्माणमा खर्च भएको छ । त्यहाँ ५ सय २० वटा रङ्गीचङ्गी छाता, १० वटा कल्चरल क्यान्भास, सूर्यास्त अवलोकन क्षेत्रलगायतका संरचना निर्माण गरिएको छ ।

होटल एसोसिएसन पश्चिम चितवन कसरा एकाइका संयोजक गणेश पौडेलले कोरोना संक्रमण कम भएसँगै आन्तरिक पर्यटक बढेको बताए । यहाँ घुम्न आउने पर्यटक वन र वन्यजन्तुसँग रमाउने गरेको उनको भनाइ छ । यसै क्षेत्रमा ऐतिहासिक तथा धार्मिकस्थलका रुपमा छितामाई मन्दिर र विक्रम बाबासमेत रहेका छन् ।

त्यस्तै कमलपोखरी, लामीताल, तमोरताल अवलोकन र जिप सफारी, पैदलयात्रा, हात्ती सफारी गर्ने व्यवस्था पनि यहाँ गरिएको उनले जानकारी दिए । घटगाई क्षेत्रमा गाडा चढेर पनि आन्तरिक पर्यटकले मनोरञ्जनसमेत लिने गरेका छन् । यहाँबाट निकुञ्ज मुख्यालय कसरामा अवस्थित घडियाल र गोही प्रजनन केन्द्रको पनि अवलोकन गर्न सकिन्छ । पटिहानी छितामाई क्षेत्रबाट निकुञ्जको बाटो भएर सौराहास्थित हात्ती प्रजनन केन्द्रसम्म जीप सफारी रूट रहेको पौडेलको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यस क्षेत्रमा एकसिङ्गे गैँडा, बाघ, भालु, हरिण, मृगलगायतका जङ्गली जनावरको पनि अवलोकन गर्न सकिन्छ । राप्ती नदीमा डुङ्गा सयर, गोही, चराको अवलोकनका कारण यस क्षेत्रको फरक विशेषता रहेको छ । थारु, बोटे समुदायको वेशभूषा, संस्कृति प्रदर्शन र उनीहरुले खाने परिकारको पनि स्वाद लिएर पर्यटक रमाउने गरेको पौडेल बताए । रासस

सम्बन्धित समाचार

thumbnail

लामो पुल पर्यटकको रोजाइ

बागलुङ । शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो। कालीगण्डकीको बहाव निरन्तर थियो। सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो। बागलुङ…

thumbnail

दशैँतिहारमा रारा ताल घुम्नेको लर्को

सिञ्जा । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ। दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो। दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या…

thumbnail

मानहुँकोटमा दैनिक हजारौँ पर्यटक

तनहुँ । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामाजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर…