उदयपुर । उदयपुर सदरमुकाममा बुधबार साँझ भएको आगलागीबाट एक स्थानीयको घर गोठ जलेर ध्वस्त भएको छ। त्रियुगा नगरपालिका–३ मोतिगडा चाँपस्थित हरिनारायण कोईरालाको गोठबाट सल्केको आगोले गोठ र घरसहित घरभित्र रहेका सम्पूर्ण धनमाल नष्ट गरेको प्रहरीले जनाएको छ।
साँझमा गाईलाई खोले पकाएको आगोको र्कोइलाबाट सल्केर गोठ हुँदै घरमा लागलागी हुँदा टीनको छानो भएको २ तले काठको घर र घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र गाईगोठ पूर्णरुपमा जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
आगलागीको खवर सुनेलगत्तै खटेको जिल्ला प्रहरी र सशस्त्र प्रहरी गण बोक्सेको टोलीले दमकल र स्थानीयको सहयोगमा दुईघण्टापछि आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट १० लाख बराबरको क्षति भएको घट्नास्थलको प्रकृति मुचुल्काले जनाएको छ।
साँझ ५ बजेजस्तो समयमा लागेको आगो स्थानीयले बेलैमा थाहा पाएकाले छिमेकीको घरमा संक्रमण हुन नपाएर धेरै क्षति हुनबाट बँचेको प्रहरी भनाई छ। आगो सल्केको थाहा पाएलगत्तै नगरपालिकामा दमकल बोलाउदै प्रहरीमा खवर गरेकाले छिमेकका घरहरु बचाउन सफल भएको स्थानीय गोविन्द राईले बताए। nagariknews.nagariknetworkबाट साभार