अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार , अपहरणमा संलग्न ४ पक्राउ

काठमाडौं । काठमाडौँको एक होटेलबाट अपहरणमा परेका दुई चिनियाँ नागरिकको उद्धार गरिएको छ । अपहरणमा परेका दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार गरिएको हो ।

काठमाडौंको गौशलास्थित होटेल आनन्दमा बसेका चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अपहरणमा परेका थिए । उनीहरुको पाँच दिनपछि सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पुस १९ गते अपहरणमा परेका दुवैजनालाई बिहीबार घाइते अवस्थामा उद्धार गरिएको थियो । अपहरणकारीको कुटपिटबाट दुवैजनाको हातखुट्टामा गम्भीर चोट लागेको छ ।

उपचारका लागि उनीहरूलाई ग्वार्कोस्थित बि एन्ड बी अस्पताल भर्ना गरिएको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी प्रमेश विष्टले जानकारी दिए ।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताएका छन ।

अपहरणमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरिएको छ । अपहरणको कारण खुलेको छैन । ‘हामी अनुसन्धानको प्रारम्भिक चरणमै छौँ । अनुसन्धान जारी नै छ । के कारणले उनीहरूको अपहरण भयो, त्यो खुलिसकेको छैन,’ विष्टले भने, ‘अपहरणमा संलग्न चारजना पक्राउ परेका छन् । बयानपछि पक्कै पनि कारण खुल्नेछ ।’

नेपालमा रहेका दुई चिनियाँ नागरिकलाई अपहरण गर्ने चिनियाँ नागरिक नै रहेको खुलेको छ । उनीहरूलाई सघाउने काम भने दुई नेपालीले गरेको पाइएको छ ।घटनामा संलग्न चारैजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दुई चिनियाँ नागरिक चीन आङ्गखोई उहुका वु चाव र चीन सान्दोङ्का झाङ वे रहेका छन् ।

उनीहरूसँगै दुई नेपाली सिन्धुपाल्चोकको भोटेकोसी–५ का ३२ वर्षीय दाबा पासाङ लामा र माइला भनिने भक्त लामा पक्राउ परेका छन् । प्रहरीका अनुसार दाबा र भक्तले लि विपिङ र लि जियाजिङलाई अपहरण गर्ने कार्यमा सघाएका थिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार