मालिका गाउँपालिकाको आठौं गाउँसभा

बेनी ।म्याग्दीको मालिका गाउँपालिकाको ८ औं गाउँसभाले महत्वपूर्ण ऐन, कार्यविधि, नियमावली र निर्देशिका अनुमोदन गरेको छ। बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको गाउँसभाले १ ऐन १२ कार्यविधि, १ नियमावली र १ निर्देशिकालाई सर्वसम्मतिले अनुमोदन गरेको हो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका ागरको अध्यक्षतामा बसेको बैठकले संसोधित तथा थप गरी कुल ७ करोड २७ लाख ३५ हजार बजेट समेत पारित गरेको छ ।

गाउँसभामा प्रधानमन्त्री रोजगार कार्यक्रममा प्राप्त १ करोड ८८ लाख १ हजार, आवास निर्माणमा ५० लाख, स्वास्थ्य केन्द्रमा साम्रागी, प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक उपकरण खरिद, कृषि, पर्यटन, शिक्षा तथा रोजगारी सिर्जना हुने कार्यक्रमका साथै विकास निर्माणका विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको उपाध्यक्ष खर मायाँ विटालुले बताउनुभयो ।

गाउँपालिकामा १५ सय २७ जना रोजगारका लागि आफ्नो विवरण सूचिकृत गरेकोमा छनौट हुनेले रोजगारी बापत प्रति दिन ५ सय १७ रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष विटालुको भनाई छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा मात्रै यस आवमा पहिलो चरणमा ५२ लाख, दोस्रो र तेस्रो गरी कुल २ करोड ४० लाख गाउँपालिकामा आएकोमा प्रति वडा न्यूनतम २६ लाख ४६ हजार विनियोजन गरिएको छ ।

गाउँसभामा आर्थिक विकास संयोजक सन्तनाथ सुबेदी, सामाजिक विकास संयोजक टंक पुन, वडा नं २ नरबहादुर पुन, ५ पिपला बुढा, गाउँसभा सदस्य कर्ण रोकाले वडामा विनियोजन गरिएको बजेटलाई समयमै योजना सम्झौता सहित काम सम्पन्न गर्ने वातावरण बन्नुपर्ने बताएका थिए । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले रोजगारमुखी बजेटलाई लक्ष्य प्राप्ती र दिगो हुने गरी खर्च गरिने बताउनुभयो ।

उहाँले यसबर्ष विकास निर्माण बाहेक कृषि, पर्यटन, शिक्षा तथा रोजगारी सिर्जनामा गाउँपालिकाले विशेष जोड दिएको उल्लेख गर्दै समृद्ध गाउँपालिकाका निर्माणका लागि सम्बन्धीत सबै पक्ष जिम्मेवार हुनुपर्नेमा बताउनुभयो । गाउँसभामादीर्घकालीन विकासका लागि जनताको मागमा आधारित योजना र बजेट बनाउने र लक्ष्य प्राप्ती गदैं अबको बाँकी समय विकास वर्षका रुपमा मनाइने बताएका थिए ।

यस्ता छन् गाउँसभाले अनुमोदन गरेका ऐन, कार्यविधि, नियमावली र निर्देशिका
प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन, (घ) वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरणसम्बन्धी कार्यविधि २०७७, जलश्रोत उपयोगी नियमावली, विपद् ब्यवस्थापन सञ्चालन कोष सञ्चालन तथा ब्यवस्थापन कार्यविधि, सुरक्षित विपन्न आवास कार्यक्रम सञ्चालन कार्यविधि, सुत्केरी प्रोत्साहन भत्ता वितरण कार्यविधि रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताउनुभयो। ‘अब लक्ष्य प्राप्तीमा केन्द्रित हुन्छौ,‘हामीलाई अपुग सबै कानुन बनाएर अगाडी बढेका छौ’ ,पौडेलले भन्नुभयो ।

गाउँसभाले थप गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन कार्यविधि, स्थानीय तालिम तथा सञ्चालन कार्यविधि, योजना तर्जुमा कार्यान्वयन तथा ब्यवस्थापन कार्यविधि, खेलकुद सञ्चालन सम्बन्धि कार्यविधि, आकस्मिक कोष सञ्चालन तथा ब्यवस्थापन कार्यविधि, समपुरक कोष सञ्चालन तथा ब्यवस्थापन कार्यविधि, नक्सा पास सम्बन्धि कार्यविधि, मर्मत सम्भार कोष सञ्चालन निर्देशिका र कन्टेन्जेन्सी खर्च रकम ब्यवस्थापन कार्यविधि अनुमोदन गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार