रेष्टुरेण्ट क्षेत्रका श्रमिकहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग राख्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत आफ्ना मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङलाई ज्ञापन पत्र बुझाएका छन् ।

निषेधाज्ञाले आर्थिक मारमा परेका रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा आर्थिक संकटमा परेको भन्दै पुनः सञ्चालनका लागि व्यवसायीले स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

‘कोरोना भाइरसका कारण रेष्टुरेण्ट व्यवसाय तथा यसमा आवद्ध श्रमिकहरु विशेष मारमा परेको, जीवनयापन गर्न असहज वातावरण सिर्जना भएको जानकारी गराउँदै उनीहरुको हक हित र सुरक्षाका लागि सम्पूर्ण श्रमजीविलाई यथाशिघ्र प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गर्दछौं,’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ‘द बर्गर हाउस एण्ड क्रन्चीफ्राइड चिकेन हाउस’ समूहका संस्थापक वसन्त लामाले भने, ‘गत वर्षदेखि नै हामी लकडाउनको मार खेपिरहेका छौं । त्यसमाथि हाम्रा श्रमजीविले समयमै खोप नपाउँदा हाम्रो व्यवसाय र लाखौं कार्यरत मानिसको जीवन असुरक्षित भएको छ । त्यसैले रेष्टुरेण्ट क्षेत्रमा काम गर्ने मानिसहरुको लागि खोप उपलब्ध गराउन माग गरेका हौं ।’

विभिन्न उमेर समूहका फ्रन्ट लाईनरले खोप पाउँदा मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान गर्ने रेष्टुरेण्ट क्षेत्रलाई भने ओझेलमा पारिएको प्रति गुनासो उनको गुनासो छ । अहिले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुर र करोडौं उपभोक्ताको जीवनको जोखिममा रहेको व्यवसायी पासाङ घिसिङले सुनाए ।

‘हाम्रा श्रमजीविले समयमा खोप नपाउँदा हाम्रो व्यवसायसँगै मजदुर र करोडौं उपभोक्ताको पनि जीवन जोखिममा परेको छ । अब खोप समय उपलब्ध भए व्यवसाय क्षेत्र पनि चलायमान हुन्थ्यो,’ उनले भने ।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री तामाङले अबको चरणमा रेष्टुरेण्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिने बताएका छन् । मन्त्री तामाङले–‘पहिलो चरणमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर समूह र फ्रन्ट लाइनरलाई खोप दिएको हो । अबको चरणमा रेष्टुरेण्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिनेछ ।’

रेष्टुरेष्ट व्यवसायी र त्यस क्षेत्रमा कार्यरत मजदुरलाई खोप लगाउने विषयमा मन्त्रालयमा पनि छलफल भइरहेको उनले बताए । हाल होटल तथा रेष्टुरेण्ट क्षेत्रमा ६ लाख भन्दा धेरै मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार