एसईई उत्तिर्ण हुने आमाहरुलाई सम्मान

बेनी । म्याग्दीको सदरमुकाम बेनी स्थित उज्यालो वैकल्पिक विद्यालयबाट २०७७ को एसईई परिक्षामा सहभागि भई उत्तिर्ण हुने आमाहरुलाई विद्यालयले सम्मान गरेको छ । आइतबार विद्यालय परिवारले कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । एसर्ईई परिक्षामा विद्यालयबाट ९ जना सहभागि भएका थिए । शनिबार आएको एसईई नतिजा पछि आमाहरुको मुहारमा खुसी छाएको छ । परिवार,आफन्त,इन्टमित्र र छरछिमेकीले दिएको बधाई तथा शुभकामनाले उनीहरुमा हौसला मिलेको छ ।

बाल्यकालमा पढ्ने अवसर मिलेन बुढेसकालमा भएपनि एसईई पास गर्दा खुसी लागेको ६० वर्षीय भुलमाया तिलिजाले बताउनुभयो । गाउँघरमा दाउरा घाँस गर्दै जिवन वित्यो तिलिजाले भन्नुभयो ‘पढ्ने रहर भएपनि त्यसबेला पढ्न पाइँन ।’तिलिजाले २.४५,४८ वर्षकी भुलकुमारी रोकाले २.६०, ३६ वर्षकी तिर्सना भण्डारीले २.६०, २४ वर्षकी ललिता तिलिजा २.४५, २८ वर्षीय पुष्पा शाही २.४० र ३० वर्षकी रेणु विकले २.४० अंक ल्याएर एसईई उत्तिर्ण हुनुभएको विद्यालय व्यवस्थापन समितिका सचिव लोकेश पुन मगरले जानकारी दिनुभयो । यसैगरी २५ वर्षीय सलिना किसानले २.५० जि.पि.ए, ५५ वर्षीय लालकुमारी सापकोटाले २.५५ जि.पि.ए प्राप्त गर्नुभएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारको पूर्व मन्त्री नरदेवी पुनले आमाहरुलाई आगमी दिनमा पढाईलाई निरन्तरता दिन सुझाव दिनुभयो । प्राविधिक शिक्षा आर्जन गरेर समाजमा रोजगारी सिर्जना गर्न आमाहरुलाई उहाँले सुझाव दिनुभयो । हरेक क्षेत्रमा पढाईको ठूलो महत्व भएकाले आगमी दिनमा पनि पढाईलाई निरन्तरता दिन उहाँले अनुरोध गर्नुभयो । स्थापना देखि समस्या र चुनौती भोग्दै विद्यालय एसईई सम्म आइपुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो । विभिन्न कारणले विचैमा पढाई छाडेर बसेका आमाहरुलाई शिक्षाको अवसर दिलाउन उज्यालो वैकल्पिक विद्यालय सफल भएको उहाँले बताउनुभयो ।

आमाहरुले अल्छि नगरी परिश्रम गरेर पढाईलाई निरन्तरता दिएकाले सफलता मिलेको शिक्षिका गंगादेवी शर्माले बताउनुभयो । विचमै पढ्न छाडेका र विभिन्न कारणले पढ्न नसकेका आमाहरुका लागि बेनीमा २०७३ देखि उज्यालो विद्यालय स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।एसईई दिने यो पहिलो समुह हो । औपचारिक शिक्षाबाट वञ्चित आमाहरुलाई शिक्षाको मूलधारमा ल्याउन विद्यालय सञ्चालन गरिएको शाक्यले बताउनुभयो । विद्यालयमा अहिले १० कक्षासम्मको पढाइ हुन्छ । पढ्ने इच्छा भए उमेरले छेक्दैन भन्ने गतिलो अवसर विद्यालयले दिएको छ ।

विद्यालयमा २५ देखि ६० वर्ष समूहका ६८ आमा अध्ययनरत रहेको विद्यालय सहजकर्ता रिता गर्बुजाले बताउनुभयो । नाम मात्र लेख्न सक्ने धोकाले पढ्न थालेका आमाहरूले अहिले नेपाली, अंग्रेजी, गणित विषय पढ्दै, लेख्दै र कम्प्युटर पनि चलाउन सिकिरहेका छन् । विद्यालय सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले पनि आर्थिक सहयोग उपलब्ध गराएको छ । यसका साथै बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईले आर्थिक व्यवस्थापन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार