वीरगन्ज । छतबाट लडेर घाँटीको हड्डी भाँचिएर हात खुट्टा नचल्ने र शरीरको ‘सेन्सेसन’ गुमको अर्थात चिकित्सकीय भाषाको ‘पाराप्लेजिया’ अवस्थामा पुगेको एक जना बिरामी वीरगन्जको अस्पतालबाट सफल उपचारपछि घर फर्किएका छन्।
‘मैले भाईलाई गुमाइसकेँ भन्ने लागेको थियो, चिकित्सकले भनेका थिए सम्भावना नगन्य छ, मैले इश्वरलाई गुहार लगाउँदै अप्रेसन गर्न लगाएँ, भगवानले मेरो सुनेछन्,’ बिरामी रौतहटको दुर्गाभवानी गाउँपालिका–५, बडहर्वा निवासी २३ वर्षीय लालबाबु सहनीका दाजु लक्षमन सहनीले नागरिकलाई भने, ‘दुर्भाग्यले दुर्घटना भयो, पछि भने संयोग ले साथ दिएको हुनुपर्छ। बेलैमा सही ठाउँमा पुगेको रहेछु।’
रौतहटमैं छिमेकी गाउँ मुडहर्वामा छेदि रामको निर्माणाधीन पक्की घरको छतमा भदौ १२ मा लालबाबु र उनका दाजु लक्षमण काम गर्दै थिए। लालबाबुको खुट्टा चिप्लिएर उनी छतबाट सडकतिर लडे। नजिकैबाट गुज्रिएको ४ सय ४० भोल्ट करेन्टसहितको विद्युतको तार उनी समात्न पुगे। ‘तार समातेर उ बेहोस भएर त्यही भुण्डिरहेको थियो, मैले समातेर छततिरै तान्न खोजेँ, मलाई पनि झट्का लाग्यो, उसको ज्यान जोगाउन उसमाथि आधाजति भर्ति रहेको सिमेन्टको बोरा बजारेँ,’ बिरामीका दाजु लक्ष्मनले भने, ‘उ भुईमा झर्यो र पक्की सडकमा टाउको बजारियो।’
घट्नामा लालबाबुको घाँटी र दाहिने खुट्टा भाँचिएको रहेछ अनि टाउकोमा चोट र विद्युतको झट्काले हातमा घाउँ लागेको रहेछ। गौरदेखि वीरगन्जसम्ममा अस्पतालहरुले फिर्ता गरेपछि साझँ ६ बजे उनी भाईलाई लिएर बीरगन्जको छपकैयामा रहेको सूर्या हस्पिटलमा भर्ना गराउन सफल भए।
अस्पतालका चिकित्सहरुको टोलीले जटिल प्रकृतिको अप्रेसन ४ घण्टा लगाएर गरेको बताउँछन्। घाँटीको भित्रि भागमा रहेको हड्डीले बनेको ‘सर्भाइकल ५’ भन्ने भाग भाँच्एिको रहेछ। अस्पतालका न्युरो सर्जन डा. रंजित चौरसियाका अनुसार ‘ट्रमेटिक सिभियर सर्भाइकल कर्ड एन्ज्युरी’ भएर ‘पाराप्लेजिया’ अवस्थामा, अर्थात स्नायुतन्त्रसहितको घाँटीको हड्डी भाँचिएर अचलस्त अवस्थामा बिरामी अस्पतालमा आएका थिए।
न्युरो सर्जन चौरसिया नेतृत्वको टोलीले अप्रेसन गरेको हो। डा. चौरसियाले निकै गम्भीर प्रकृतिको अप्रेसन बिरामीको अभिभावकको अग्रहमा मात्र गरेको बताउनुभयो। उनले बिरामीलाई जोगाउन सफल भएकोमा खुसियाली जनाउनुभयो। एनेस्थेसियाका डा. कुमार दिगम्बर र तिघ्राको भाचेको हड्डीको अप्रेसन गर्नुभएका हाडजोर्नी विशेषज्ञ डा. सरोज सिंहले पनि बिरामीलाई पुनः होसमा आएर हात खुट्टा चलाउन सक्ने भएको देख्दा सुखद अनुभूति गरेको जनाउनुभयो। यस प्रकारको जटिल अप्रेसन यसअघि वीरगन्जमा भएको आफूलाई जानकारी नभएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सचितानन्द सिंहले प्रतिक्रिया दिनुभयो।
बिरामी लालबाबुले प्रत्येक दिन क्रमिक सुधार महसुस भएको बताए। हातमा बल फर्किसकेको खुट्टा पनि अलिअलि चलाउन सकेको बताए। डा.चौरसियाले उनको हातमा ५ मा ५ क्षमता तागत फर्किसकेको र खुट्टामा ५ मा २ क्षमता फर्केको बताए। उनले बिस्तारै बिरामी निको हुँदै जाने बताए। औषधि उपचार सकिएपछिको अवस्थामा पनि केही ब्यायाम आवश्यक हुने र पूर्ण रुपमा आफ्नो खुट्टामा उभिएर कामधन्दामा फर्किन समय लाग्ने उनको भनाई छ। बिरामीको घाँटी जोड्न ‘टाइटेनियम केज’ हालिएकोले त्यसको लागि अहिले सावधानीहरु पनि आवश्यक रहेको बताए। nagariknews.nagariknetworkबाट