एमालेसँग छलफलका लागि तयार छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताउनुभएको छ । सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताउनुभयो । बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताउनुभएको हो ।

सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, ‘ढिलो चाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ । दसैँको अवसरमा छौँ, यो अवसरले हामी सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो । मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरूले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ, जतिसुकै ठुलो समस्या भए पनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो ।

हाम्रो संसद्मा अहिले अलिकति समस्याहरू देखिएको छ, अवरुद्ध भइरहेको छ, १५ दिनको समय पनि छ, कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु ।’सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताउनुभयो । उहाँले संसद् सुचारु रूपमा चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफू सकेसम्म पहल गर्ने बताउँदै संसद् पुनर्स्थापना गर्न लागि परे जस्तै संसद् सुचारु रूपमा चलाउन संसदहरुले पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले संसद्लाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागि पर्ने बताउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, ‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिसोध सोच्न पनि सकिँदैन । यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ, अझ निष्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक, ट्रयाक वान, टू, सबै उपायहरू अवलम्बन गर्नका लागि मैले सके जति मिहिनेत गर्दछु । संसद्लाई जीवन्त र प्रभावकारी बनाउनुको विकल्प छैन ।’

सभामुख सापकोटाले संसद्मा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै सञ्चारमाध्यमहरूमा आएको कुरा सही नभएको बताउनुभयो । उहाँले एक किसिमले राष्ट्रका संवेदनशील विषयहरू अगाडि बढ्न आफूले नरोकेको सहजीकरण नै गरेको बताउनुभयो । उहाँले सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरू उदासीन नभएको बताउँदै संसद् सुचारु गर्नका लागि शान्तिपूर्वक लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यसका लागि सरकार, गठबन्धन दल र सबै सांसदहरूले समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्र संघीय संसद्मा कमै मात्र प्रयोग भएको बताउनुभयो । आगामी कार्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा संसद् सुचारु रूपले चल्नेमा आफू आशावादी रहेको बताउनुभयो। रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी…

thumbnail

थप ३६५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ९४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा…

thumbnail

साफ च्याम्पियनसिप : नेपाल पहिलो पटक फाइनलमा

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन्…