काठमाडौँ । कोरोना उपचारको नाममा निजी स्वास्थ्य संस्थाले फर्जी उपचार खर्च माग गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले बताउनुभयो। बिहीबार स्वास्थ्य पत्रकारहरूसँगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। केहीले उपचार सेवाभन्दा बढी खर्च असुल्ने गरी नक्कली बिल बनाइ मन्त्रालयमा पेश गरेको पाइएकाले समयमै भुक्तानी दिन नसकेको उहाँको भनाइ थियो।
‘अध्ययन अनुगमन गर्दा आइसियू नबसेका बिरामीको नाममा र एक दिन मात्र बसेका बिरामीको नाममा दश दिन बसेको बिल पेश गरी करौडौ रकमको नक्कली (फर्जी) बिल पेश गरेको पाइएको छ,’ मन्त्री खतिवडाले भन्नुभयो। अनयिमित रूपमा धेरै निजी अस्पतालहरूले माग गरेको कोरोना खर्च व्यवस्थापनमा मन्त्रालय छानविन प्रक्रियामा रहेको र सोपछि व्यवस्थाप गर्ने उहाँले बताउनुभयो।
‘कतिपय अस्पतालहरूले बिरामीले लिएको सेवाभन्दा चारगुण बढी समेत भुक्तानी बिल माग गरेको पाइएको छ,’ मन्त्री खतिवडानले भन्नुभयो। सरकारको पैसा लुट्ने उद्देश्यले १० हजारको उपचार गरेर ९० हजारको खर्च दाबी गरेको पाइएकाले अनुसन्धान भइरहेको उहाँको भनाइ छ। कोरोना भत्ताको लागि ४५ करोड बजेट माग गरेर अर्थमन्त्रालयमा पठाएको उहाँले बताउनुभयो।
मन्त्री खतिवडाले स्वास्थ्य बिमालाई सरकारी संस्थाबाट प्राप्त गर्ने पहिलो प्राथमिता रहेको बताउनुभयो। निजी स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बिमाको नाममा बिरामीलाई थोरै सेवा दिएपनि धेरै बिल पेश गरी बिरामी र बिमा कम्पनी दुवैलाई झुक्याउने गरेको पाइएको उहाँको भनाइ थियो।
यो अनियमिततालाई व्यवस्थापन गर्ने गरी सरकारले स्वास्थ्य बिमा सरकारी अस्पतालबाटै लागुगर्ने र नभएको अवस्थामा मात्रै रेफर गर्ने गरी लागु गर्ने प्रक्रियामा रहेको बताउनुभयो। स्वास्थ्य बिमालाई सबैको पहुँचमा पुर्याउने लक्ष्यसहित आफ्नो कार्यकालमै करिब ३० लाख लोपोन्मुख, अल्पसंख्यकलाई बिमाको लागि शुल्क बिनै सरकारले व्यवस्थापन गर्ने गृहकार्य भइरहेको बताउनुभयो।
१ करोड फाइजर र मोर्डनको खोप छिट्टै आउने
बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले अमेरिकाबाट आउने थप १ करोड खोप छिट्टै आइपुग्ने बताउनुभयो। १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई दिन मिल्ने गरी लिइने सो खोपको लागि सम्झौता भइसकेकाले छिट्टै आउने उनको दाबी छ। यसअघि नै सम्झौता भइसकेको चीनबाट खरिव ६० लाख खोप आउने प्रक्रिया रहेको र नेपालमा भण्डारण रहेका खोपसहित २ करोड खोप पाइपलाइनमा रहेको मन्त्री खतिवडाले बताउनुभयो।
तथ्याकं अनुुसार हाल नेपालमा ४५ प्रतिशत जनसंख्याले कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लिएका छन् भने ३५ प्रतिशतले दोस्रो डोज खोप लिइसकेका छन्। सुदूरपश्चिम प्रदेशमा ३८.१ प्रतिशतले पहिलो डोज, ३१.० प्रतिशत , लुम्बिनीमा ३७.७ प्रतिशत गण्डकीमा ५३ प्रतिशत, बाग्मतीमा ६६.५ प्रतिशतले पहिलो मात्रा खोप लिएका छन। nagariknews.nagariknetworkबाट