कोभिड खोपविरुद्धको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा संकटकाल घोषणा

काठमाडौं । कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ ।

ओटावाका मेयरले सहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन संकटकाल लगाइएको बताएका छन् । सुरुमा ट्रक चालकहरुले थालेको आन्दोलनमा अन्य व्यक्तिहरुले पनि साथ दिएपछि क्यानडाको राजधानी सहर ठप्प जस्तै भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

आन्दोलनकारीले सडकमा ट्रक तेर्स्याएर र टेन्ट राखेर यातायात आवागमन बन्द गराएका छन् । आन्दोलनको क्रममा हिंसा र दुर्व्यवहार भएको भन्दै उजुरी पनि परेका छन् । क्यानडा सरकारले यही जनवरी १५ तारिखमा कोरोनाविरुद्धको खोपसम्बन्धी निर्णय गर्दै खोप नलगाएका क्यानेडियन ट्रक चालकहरूले अमेरिका–क्यानडा सीमा वारपार गर्न खोप लगाएको हुनुपर्ने आदेश जारी गरेको थियो ।

यही आदेशको विरोधमा ट्रक चालकहरुले प्रदर्शन सुरु गरेका थिए । अहिले त्यही प्रदर्शन व्यापक हुँदै गएको हो । उनीहरुले प्रदर्शनलाई ‘फ्रिडम कन्भोई’ नाम दिएका छन् । राजधानी ओटावाका साथै टोरन्टो, क्विबेक, फ्रेडेरिक्टज र विनिपेगमा पनि कोभिड खोप अनिवार्य गरिएको विरोधमा प्रदर्शन भएका छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार