
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएपछि उहाँबाहेक केन्द्रीय समितिका पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लाग्नुभएको हो ।
सभापति देउवाले आगामी बिहीबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ। त्यसअघि कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मंगलबार पदाधिकारी बैठक बस्न लागेको हो । सहमहामन्त्री जीवन परियारले विहीबार बस्ने कार्यसम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको जानकारी दिनुभयो ।
कार्यसम्पादन समिति बैठकमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू र जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका बारेमा छलफल गर्ने एजेन्डा छन् । सहमहामन्त्री परियारले त्यसबाहेक सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेकाले त्यसको तयारीका विषयमा समेत छलफल हुने बताउनुभयो । ekantipurबाट