शिवरात्री पर्वमा गलेश्वर मन्दिरमा चार लाख ३३ हजार भेटि संकलन

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा यस वर्षको शिवरात्री पर्वमा रु. चार लाख ३३ हजार भेटि संकलन भएको छ ।

मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले चढाएको भेटीलाई मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयबासीको उपस्थितिमा बिहिबार बिहान गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यालय परिसरमा गनिएकोे गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले बताउनुभयो ।

कोषका अनुसार गत साउन महिना देखि यही फागुन १४ गतेसम्म पुजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले रु. ५१ लाख २२ हजार एक सय ५४ भेटि संकलन भएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भक्तजनको आगमनसँगै भेटि पनि बढेको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कुल ५८ लाख ४० हजार पाँच सय १० भेटी संकलन भएको थियो । यस वर्ष नियमित रु. २५ लाख १५ हजार पाँच सय ४७ र मेलापर्वमा रु. २६ लाख छ हजार छ सय छ भेटि संकलन भएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

मंसिरको बालाचर्तुदशीमा रु. छ लाख ६१ हजार दुई सय ९४ र साउन सोमबारको मेलामा रु. १५ लाख दश हजार सात सय २४ भेटि संकलन भएको थियो । अन्य शिर्षकमा रु. २१ लाख ४२ हजार पाँच सय २८ सहित कोषले साउन महिनादेखि हालसम्म कुल रु. ७२ लाख ६४ हजार छ सय ८२ आम्दानी भएको कोषका कार्यालय सचिव राम बानियाले बताउनुभयो ।

मन्दिरको आम्दानी कार्यालय, पुजा व्यवस्थापन, मन्दिरका पुुजारी, जेष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार