गठबन्धनको सहमति बिना एमसीसी अगाडि बढाएमा गठबन्धन स्वत्ः समाप्त : गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नेता गुरुङले कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गरिसक्नुपर्ने ऐनको व्यवस्था भएकाले बैशाख ३० गते निर्वाचन गर्दापनि कानूनी जटिलता हुनसक्ने बताउनुभएको हो । सम्भव भएमा वर्तमान ऐन संशोधन गर्नुपर्ने र संसद अवरोधका कारण ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्था अनुसार कार्यअवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

ऐन र संविधान बाझिएको अवस्थामा मुल कानून भएको हिसाबले संविधानको व्यवस्था अनुरुप नै निर्वाचन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। नेता गुरुङले राष्ट्रियता र संविधानको रक्षाको निम्ति वर्तमान सत्ता गठबन्धन बनेको उल्लेख गर्दै सो मुद्दाहरु यथावत् रहेकाले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम राख्नुपर्ने बताउनुभयो। यद्यपी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा भने सल्लाह गर्न बाँकी नै रहेको उहाँले स्पष्ट पार्नुभयो।

नेता गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने स्पष्ट पार्नुभयो। उहाँले सो परियोजना संशोधनसहित राष्ट्रिय सहमतीमा मात्र अगाडी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। संशोधन नभएसम्म संसदमा टेबुल नहुने उहाँले बताउनुभयो । एमसीसीको विषयमा वर्तमान गठबन्धन रहँदासम्म गठबन्धनमा सहमती गरेर जानुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले गठबन्धनको सहमती बिना एमसीसी परियोजना अगाडी बढाएमा गठबन्धन स्वत्ः समाप्त हुने उहाँले बताउनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार