विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे निर्वाचन आयोगले आईटी विज्ञसँग परामर्श गर्दै

काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीमा व्यस्त निर्वाचन आयोगले आज विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्दैछ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको बताउनुभयो । छलफलका लागि आज दिउँसो १ बजे विज्ञहरुलाई बोलाइएको उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘विद्युतीय मतदान देशैभरी गर्न नसके पनि केही स्थानमा गर्न सकिन्छ, एउटा–दुईटा जिल्लामा सम्भावना छ कि, सहरमा छ कि, नगरपालिकामा छ कि भनेर राय सल्लाह गर्न नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई बोलाइएको हो ।’काठमाडौं उपत्यकाभित्र विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे आयोगमा छलफल चल्दै आएको छ । त्यसको सम्भावनाबारे अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ ।

कार्यदललाई आर्थिक र प्राविधिक पक्षबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ । आर्थिक र प्राविधिक दृष्टिकोणले विद्युतीय मेसिन प्रयोग गर्न उपयुक्त देखिएमा राजनीतिक सहमति कायम गरेर अघि बढ्ने आयोगको तयारी छ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरिसकेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार