
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलले पनि पार्टी छाड्नुभएको छ । उहाँले बुधबार विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो ।
उहाँले आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको तर असफल भएको उल्लेख गर्नुभएको छ। ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ ।
असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ, आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु’ पौडेलले लेख्नुभएको छ । राप्रपामा कमल थापा निकट भनेर चिनिएका पौडेल पूर्व कोषाध्यक्ष पनि हुनुहुन्छ । तर गत मंसिरमा भएको महाधिवेशनमा उहाँले कुनै पनि पदमा उम्मेदवारी दिनुभएको थिएन ।
निवर्तमान अध्यक्ष थापाले पार्टी छाडेको भोलिपल्ट पौडेलले पनि छाड्नुभएको हो । तर उहाँले आफूले कमल थापालाई साथ दिने गरी पार्टी नछाडेको बताउनुभयो । ‘मैले कुनै दृष्टिकोण बनाएको छैन, उहाँ (कमल थापा)सँग भेट पनि भएको छैन’ उहाँले भन्नुभयो । पार्टीको विवाद मिलाउन नसकेपछि बसिरहनु उचित नदेखेर छाडेको पौडेलले बताउनुभयो । अनलाइनखबरबाट