
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगले दल दर्ताका क्रममा प्रदान गरेको चिन्हबाटै निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेको छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ध्यानाकर्षण पत्र बुझाउँदै सो माग गर्नुभएको हो ।
प्रदेश तथा प्रतिनिधिसभामा दल दर्ताका समयमा प्राप्त गरेको निर्वाचन चिन्हलाई नै मान्यता दिने गरिएको तर स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको जस्तो नयाँ चुनाव चिन्ह लिनुपर्ने व्यवस्था गर्नु आपत्तिजनक रहेको उहाँले बताउनुभयो ।
यो विषयमा आयोगका प्रमुख आयुक्त थपलिया पनि सकारात्मक रहनुभएको सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आयोगका प्रमुख आयुक्त थपलिया पनि दल दर्ताका समयमा प्राप्त गरेको चुनाव चिन्हमै सकारात्मक हुनुहुन्छ, त्यसका विषयमा सरकारले निर्णय गर्नुपर्ने सुझाव दिनुभयो ।’ ratopatiबाट