जुत्ता पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको छ । गएराति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिनुभयो ।

चार पुरुष र एक बालिकाको शव फेला परेको उहाँले बताउनुभयो । मृत्यु हुनेहरुमा १३ वर्षिया साजिता खातुन, १५ वर्षिय हसन बकस, १३ वर्षिय मनिस बकस, ४० वर्षिय नजर दिव अली र ५ बर्षीया अवीददिन अली रहेका छन् ।

मृतक पाँचै जनाको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । उद्धारमा खटिएका एक जना घाईते भएका छन् । तुलसीपुर निवासी ३८ वर्षीय अमर डाँगी बहोस भएको र उनको उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

चार तले भवनमा आगलागी भएको हो ।राति लागेको आगो तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए ।विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आँकलन छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार