नेकपा (एस)को केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । अमेरिकी सहायता परियोजना (एमसिसी) को विषयमा पार्टीभित्रै फरक(फरक मत र विवाद देखिएपछि आज सचिवालयको बैठक बोलाइएको छ।

बैठकमा समसामयीक राजनीतिक अवस्था, एमसिसी र सरकारबारे पार्टीको धारणालगायतका विषयमा छलफल हुनेछन्।बैठक बिजुलीबजारमा दिउँसो १ बजे बस्ने भएको छ। नेकपा (एकीकृत समाजवादी) को शनिबार बसेको स्थायी कमिटीले एमसीसीबारे गरेको निर्णयमा शीर्ष नेताबीच नै विवाद देखिएको थियो।

पार्टी अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसी संसदबाट अनुमोदन गर्न नसकिने बताउनुभएको छ। ‘हाम्रो पार्टीको २०७८ फागुन ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति हामी प्रतिबद्ध छौं। यथास्थितिमा एमसिसी संसदबाट अनुमोदन गर्न सकिन्न,’ अध्यक्ष नेपालले भन्नुभयो।

उहाँले सहमतीमा मात्र एमसिसी अगाडि बढाउनुपर्ने दोहोर्‍याउनुभयो। ‘असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति केवल सांसदहरूको मात्र होइन सबै तहका जनताको विरोध वा समर्थन हुन सक्छ। यसो गर्न पाउनु हाम्रै संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको विषय हो,’ उहाँले अगाडि भन्नुभएको छ । उहाँले एमसिसीको विरोधमा भएको प्रदर्शनप्रति प्रहरी हस्तक्षेपको पनि विरोध गर्नुभयो।

‘संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गम्भीर असहमतिसहित बिरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना एवम् उहाँहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, अध्यक्ष नेपालले भन्नुभएको छ। यस्तै सम्मानित नेता झलनाथ खनालले आफ्नो सहमतिविपरीत एमसीसी टेबल गर्न दिएको भन्दै कडा प्रतिक्रिया जनाएउनुभएको थियो। उहाँले सदनमा एमसीसी टेबल हुँदासमेत उठेर विरोध गर्नुभएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार