
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो । बैठकमा केन्द्रीय कार्यालयका साथै पूर्वस्थायी समिति सदस्य तथा मन्त्रीहरूको पनि उपस्थिति थियो । बैठकले एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिनुभयो ।
बैठकमा माओवादी नेताहरूले एमसीसी पास वा फेल जे भए पनि गठबन्धन भने नटुटाउने विषयमा आ–आफ्नो धारणा राखेका थिए । केही नेताले माओवादी सरकारमै रहँदा छलफल गरी ल्याएको एमसीसीको विपक्षमा जाँदा विश्वसनीयताको प्रश्न पनि उठ्ने धारणा राखेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारमा रहने नरहने बारे निर्णय गर्न दबाब दिए पनि माओवादी केन्द्रले आफ्ना मन्त्रीहरूबारे कुनै निर्णय भने गरेन । माओवादी केन्द्रले अन्तिम पटक गठबन्धन बैठक राखेर पार्टीको अडान राख्ने एक नेताले बताउनुभयो । नागरिक खबरबाट