एमसिसी यथास्थितिमा पास गर्न सकिन्न तर गठबन्धन पनि अहिलेको आवश्यकता हो : माओवादी नेता गजुरेल

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता हरिबोल गजुरेलले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने भएपनि सत्तारूढ गठबन्धन जोगाउनु पनि अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

शुक्रबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पार्टीका शीर्ष नेताहरूको छलफलमा गठबन्धन कायम राख्न पहल गर्ने निर्णय भएको गजुरेलले जानकारी दिनुभयो। ‘अहिले जनमत एमसिसीको विपक्षमा छ।

यस्तो बेलामा एमसिसी संशोधन नगरी पारित गर्न हुँदैन भन्ने हाम्रो स्पष्ट अडान छ,’ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भन्नुभयो, ‘सत्ता गठबन्धन अहिलेको आवश्यकता हो । प्रतिगमनका विरूद्धमा बनेको यो गठबन्धन कायम राख्न अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएको छ।’

अर्का नेता लिलामणि पोखरेलले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय भएको बताउनुभयो । उहाँले एमसिसीको विपक्षमा लाग्दा सरकारबाट बाहिरिन परे त्यसका लागि समेत तयार रहेको बताउनुभयो। माओवादी केन्द्रले आफ्ना कार्यकर्ताहरूलाई एमसिसीको विरोधमा सडकमा उतारेको छ।

तर एमसिसी सम्झौता गर्ने चरणसम्म धेरै पटक माओवादी नेताहरू सहभागी भएकाले विश्वसनीयताको कुरा आउने बहस पनि माओवादीभित्र सुरू भएको छ। बिहीबार एमाले नेताहरूसँग भएको छलफलमा समेत माओवादी नेताहरूले एमसिसी असफल गराउन सहयोग मागेका थिए । जवाफमा एमाले अध्यक्षले एमसिसी राष्ट्रघाती नभएको भन्दै प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्ने वातावरण बनाउन भनेका थिए। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार