वैशाखमा स्थानीय चुनाव हुन्छ, त्यसपछि आमचुनाव : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुने भएकोले तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

आज कास्कीमा आयोजित कार्यक्रममा धारणा राख्दै महामन्त्री थापाले वैशाखबाट स्थानीय चुनाव नसर्ने पनि बताउनुभयो । चुनावमा सत्तारूढ गठबन्धनका दलहरूबीच तालमेल गर्ने वा नगर्ने भन्ने पछि टुंगो लगाइने थापाले बताउनुभयो। ‘गठबन्धनको काम चुनाव गराउने हो। चुनावमा मिल्छौं कि मिल्दैनौं भन्ने विषय अर्कै हो यो पछि नै थाहा हुन्छ,’ उहाँले भन्नुभयो, ‘०५६ मा कांग्रेस र एमालेको सरकार थियो त्यसलगत्तै चुनावमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा भयो।’

उहाँले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा मिलेर संविधान र प्रणाली जोगाउन गठबन्धन गर्दै सरकार बनाइएको पनि बताउनुभयो। ‘कोही नेताको भाषण वा अन्तर्वार्ता हेरेर धारणा नबनाऔं, वैशाख ३० मा स्थानीय चुनाव हुन्छ। त्यसपछि मंसिर वा त्योभन्दा अगाडि आमचुनाव हुन्छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय चुनाव गरेर पनि हामी संसद सुचारू ढंगले अगाडि बढाउन चाहन्छौं।’प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संसद चल्ने दिन पनि उहाँले आग्रह गर्नुभएको थियो ।

‘हामी संसद सुचारू गर्न चाहन्छौं, एमाले अध्यक्ष केपी शर्मा ओलीकै घरमा गएर पनि हात जोडेर भनेका छौं,’ उहाँले भन्नुभयो, ‘संसद सुचारू हुने अवस्था स्थानीय चुनावसम्म पनि भएन भने विकल्पहरू छन्।’संसद सुचारू गर्न सहयोग गर्न उहाँले एमालेलाई आग्रह गर्नुभएको छ। ‘संसद सुचारू भए पनि नभए पनि स्थानीय चुनाव तलमाथि हुन्न,’ उहाँले भन्नुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार