एक्लै लड्दा कुनै पार्टीले पनि बहुमत ल्याउँदैन : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताउनुभएको छ । उहाँले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताउनुभयो ।

‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । सरकारका लागि गठबन्धन आवश्यक हुन्छ । हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो रु तपाईंहरूलाई थाहै छ,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अहिले गठबन्धनका सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि हाम्रो गठबन्धनको सरकार रहिरहन सक्छ ।’

नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएपछि देशको अवस्थामा बदलाव आएको बताउनुभयो । ‘म प्रधानमन्त्री हुँदाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ । वास्तवमा मैले त प्रधानमन्त्री हुन नै चाहेकै थिइनँ । मलाई गठबन्धनका सबै साथीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ,’ देउवाले भन्नुभयो, ‘अहिले परिस्थिति बद्लिएको छ । डरत्रास हटेको छ । लेख्ने बोल्ने स्वतन्त्रता प्राप्त भएको छ ।’

प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले जनताका अधिकारहरूलाई ग्यारेण्टी गर्ने बाटोमा मुलुकलाई अघि बढाएको बताउनुभयो । ‘विशेषगरी हाम्रो पार्टीको उद्देश्य भनेकै नेपालमा प्रजातन्त्र र लोकतन्त्रलाई स्थायी गराउने हो । सबै जनताको अधिकारहरूलाई ग्यारेण्टी गर्ने हाम्रो उद्देश्य हो । यो उद्देश्यमा गठबन्धनका सबै साथीहरूले स्वीकार गरेर म प्रधामनन्त्री भएको हुँ,’ उहाँले भन्नुभयो, ‘यो गठबन्धन सरकारकै उपलब्धि हो ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार