
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘आइ लभ यु बा’ भन्नेहरूले भ्रष्टाचारलाई अर्जुनदृष्टि देखेको आरोप लगाउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठक चलिरहँदा पत्रकारहरूसँग विभिन्न विषयमा कुराकानी गरेका उहाँले मुलुक नै समाजवादीमय हुने गरी चुनावी माहौल सिर्जना गरिने दाबीसमेत गर्नुभएको थियो।
‘आइ लभ यु केपी बा भन्नहरूले भ्रष्टाचारलाई अर्जुनदृष्टि देखेका छन्,’ उहाँले भन्नुभयो, ‘अब हामी वडा तहमा जान्छौं। एक, डेढ महिनाको अवधिमा मुलुक नै एकीकृत समाजवादीमय हुने माहौल सिर्जना गर्छौं।’उहाँले एमालेभित्र विचारको स्खलन भएकोसमेत आरोप लगाउनुभयो। एमालेको मुल नेतृत्व दक्षिणपन्थी भएको पनि उहाँको दाबी थियो।
साथै उहाँले कांग्रेसका सभापति र संस्थापन पक्ष चुनावी तालमेलको पक्षमा रहेको दाबी गर्नुभएको छ । ‘गठबन्धन हामीलाई मात्र होइन कांग्रेसलाई पनि आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘सभापति र संस्थापन पक्ष तालमेलकै पक्षमा छ।’उहाँले केन्द्रीय सदस्यहरूलाई नै चुनावी अभियानका लागि वडाहरूमा खटाइने पनि बताउनुभयो । सेतोपाटीबाट